महिला भलिबल: एपिएफ फाइनलमा प्रवेश



झापा। यहाँ जारी राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएसँगै फाइनलमा प्रवेश गरेको छ। अर्जुनधारामा सम्पन्न सेमिफाइनल खेलमा एपिएफले न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो।

प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई पराजित गरेको थियो। सेटको स्कोर क्रमशः २५–२२, २५–१६ र २५–१२ रह्यो। न्यु डायमन्डले तेस्रो सेटमा २५–२२ ले एपिएफलाई हराएको थियो।

खेलको ‘प्लेयर अफ द म्याच’ एपिएफकी जमुना सेन्च्युरी चयन भएकी थिइन्। उनलाई नगद पाँच हजार रुपैयाँसहित ट्रफी प्रदान गरिएको थियो। फाइनलमा एपिएफले आइतबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिता विजेताले दुई लाख रुपैयाँ, दोस्रो हुने टोलीले एक लाख रुपैयाँ र तेस्रो हुने टोलीले समान रूपमा ३० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्