
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीको मृत्यु भएको घटनाको गहिरो अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन दिएकी छन्। उनले यो जानकारी सामाजिक सञ्जाल (फेसबुक) मार्फत साझा गरेकी छन्।
प्रधानमन्त्री कार्कीले घटनामा बर्दियाको बढैयाताल–४, दक्षिण भकारीकी युवतीले नागरिकताको लागि संघर्ष गर्दै जीवनको अन्तिम निर्णय लिनुपरेको र एक महिनाभित्रै उनका ६१ वर्षीय बाबुले पनि ज्यान गुमाएको खबरले आफूलाई मर्माहत बनाएको जनाएकी छन्।
उनले भनेकी छन्, “उहाँहरूको यो निर्णय हाम्रो समाज र राज्यका लागि ग्लानिको विषय हो। यदि न्यायिक–प्रशासनिक जटिलताका कारण यस्तो अवस्था सिर्जना भएको हो भने देशको प्रधानमन्त्रीको रूपमा म माफी चाहन्छु। यस घटनाको पूर्ण अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन दिइएको छ।”
प्रधानमन्त्री कार्कीले नागरिकता र लैङ्गिक आधारमा हुने कुनै पनि विभेद वा हिंसा सह्य नहुने भन्दै न्यायको मार्गमा सबै पक्षले सहयोग गर्न अपिल गरेकी छन्।





