
सुरुङ्गा – सभामुख देवराज घिमिरेले निर्वाचन नजिकिँदा दलहरूबीच अविश्वास बढेको बताएका छन्। वीरता जेसीज विर्तामोडद्वारा आज आयोजित ‘सङ्कटपछि देशको अर्थतन्त्र: अवसर र चुनौती’ विषयक कार्यक्रममा उनले सुरक्षा लगायतका कारणले निर्धारित समयमा निर्वाचन हुनेमा शङ्का रहेको बताए।
सभामुख घिमिरेले मुलुकमा राजस्व सङ्कलन कमजोर रहेको र सामान्य खर्च धान्न पनि सरकारले ऋण लिनुपर्ने अवस्था आएको हुँदा निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने आवश्यकता औँल्याए।
“मुलुकमा अराजक गतिविधि बढ्दै गएपछि निजी क्षेत्र लगानी गर्न हिचकिचाइरहेको छ। सुरक्षा कारणले मनोबल कमजोर भएको छ, त्यसैले निजी क्षेत्रलाई लगानी गर्न अनुकूल वातावरण सिर्जना गर्न सरकारको भूमिका आवश्यक छ,” उनले भने।
कार्यक्रम वीरता जेसीजका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा भएको थियो भने लिड नेपालका प्रधान सम्पादक राजेन्द्र बाँनियाले सहजीकरण गरेका थिए। कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र, नविल बैंकका कार्यकारी प्रमुख मनोज ज्ञवाली, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरी, वीरता जेसीजका सङ्घ संस्था समन्वय संयोजक भूपेन्द्र भण्डारी, कोषाध्यक्ष लोकचन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीलगायतले मुलुकको पछिल्लो आर्थिक अवस्था र चुनौतीबारे आफ्ना धारणा राखेका थिए।





