दिगो समृद्धिका लागि विज्ञानलाई अर्थतन्त्रसँग जोड्नैपर्छ : शिक्षामन्त्री पुन



ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालले दिगो आर्थिक समृद्धि हासिल गर्न विज्ञान, प्रविधि र वैज्ञानिक अनुसन्धानलाई प्रत्यक्ष रूपमा राष्ट्रिय अर्थतन्त्रसँग जोड्नुपर्ने आवश्यकता औँल्याएका छन्।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले शनिबार ललितपुरमा आयोजना गरेको ४३औँ वार्षिकोत्सव तथा विशेष पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री पुनले विज्ञान र प्रविधि क्षेत्रमा पर्याप्त लगानी नहुनु तथा यस क्षेत्रलाई अर्थतन्त्रको मूलधारबाट अलग राखिनु नै नेपालको वैज्ञानिक क्षेत्र कमजोर हुनुको प्रमुख कारण भएको बताए। विज्ञान र प्रविधि कमजोर हुँदा अर्थतन्त्र कमजोर बन्ने र त्यसको प्रत्यक्ष असर समाजमा पर्ने उनको भनाइ थियो।

उनका अनुसार वैज्ञानिक सोच र प्रविधि विकासमा देखिएको सुस्तता विगतदेखि हालसम्मको संरचनागत कमजोरीको परिणाम हो। “आर्थिक अभावकै कारण आज नेपाली जनताले पीडा भोगिरहेका छन्,” उनले भने, “पहिलोदेखि तेस्रो औद्योगिक क्रान्तिसम्म हामी पछि पर्नुको मूल कारण विज्ञान र प्रविधिप्रतिको बेवास्ता नै हो।” मन्त्री पुनले विज्ञान तथा प्रविधिसम्बन्धी शैक्षिक र अनुसन्धानमूलक संस्थालाई राजनीतिक प्रभावबाट जोगाएर स्वतन्त्र र सक्षम बनाउनुपर्नेमा पनि जोड दिए।

सीमित स्रोतसाधनका बाबजुद पनि नास्टले प्रभावकारी नतिजा दिनसक्ने क्षमता राखेको विश्वास उनले व्यक्त गरे। “विज्ञानको प्रभावकारी प्रयोग गर्दै अनुसन्धानलाई व्यवहारमा रूपान्तरण गर्नुपर्छ,” उनले भने, “अनुसन्धान र आविष्कारमा कन्जुस्याइँ नगरी सरकारले योजनाबद्ध रूपमा लगानी बढाउनुपर्छ।”

आफूलाई जिम्मेवारी आएमा अनुसन्धान र नवप्रवर्तन क्षेत्रमा कम्तीमा तीन अर्ब रुपैयाँ बराबरको बजेट छुट्याउने योजना रहेको मन्त्री पुनले बताए। नेपालमा निजीस्तरबाट नवप्रवर्तन केन्द्र सञ्चालन गर्ने परम्परा कमजोर रहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा नास्टले गरिरहेका प्रयासलाई प्रशंसनीय भएको बताए।

कार्यक्रममा नास्टले विभिन्न अनुसन्धानमूलक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका १३ जना वैज्ञानिकलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ। साथै, आजीवन विज्ञान तथा प्रविधि अनुसन्धानमा समर्पित पाँच जना वरिष्ठ वैज्ञानिकलाई कदरपत्रसमेत हस्तान्तरण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्