
काठमाडौँ । काठमाडौँको मुटु हुँदै बग्ने टुकुचा खोलालाई सफा गरी प्रशोधित पानी वाग्मतीमा मिसाउने उद्देश्यले दैनिक डेढ करोड लिटर क्षमताको ढल प्रशोधन केन्द्र निर्माणाधीन रहेको छ ।
काठमाडौँको त्रिपुरेश्वर र ललितपुरको कुपण्डोल दोभान क्षेत्रमा २.५३ हेक्टर क्षेत्रफलमा केन्द्र निर्माण भइरहेको हो । एसियाली विकास बैंक (एडीबी) को वाग्मती नदी बेसिन सुदृढीकरण परियोजनाअन्तर्गत सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यस केन्द्रको लागत तीन अर्ब १८ करोड रुपैयाँ रहेको छ । केन्द्र आगामी मङ्सिरभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
टुकुचाको प्रवाहलाई उक्त केन्द्रमा पथान्तरण गरी प्रशोधन गरिएको पानी वাগ्मतीमा प्रवाह गरिनेछ । प्रशोधन प्रक्रियाबाट सहउत्पादनका रूपमा ८०० किलोवाट विद्युत् समेत उत्पादन हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री कुलमान घिसिङको निजी सचिवालयले जनाएको छ ।
हाल त्रिपुरेश्वरतर्फ ढल प्रशोधन केन्द्रका मुख्य भौतिक संरचना निर्माण भइरहेको छ भने स्थानीय अवरोधका कारण ललितपुरतर्फका संरचना निर्माण कार्य अघि बढ्न सकेको छैन । ललितपुर क्षेत्रमा विद्युत् उत्पादनसम्बन्धी संरचना मात्र रहने र मुख्य ढल प्रशोधन संयन्त्र भने त्रिपुरेश्वरमै निर्माण हुने जनाइएको छ ।
मन्त्री घिसिङले आज निर्माणाधीन प्रशोधन केन्द्रको स्थलगत निरीक्षण गर्दै निर्माण प्रगतिबारे जानकारी लिएका छन् । निरीक्षणका क्रममा उनले आयोजना व्यवस्थापन, परामर्शदाता तथा निर्माण व्यवसायीसँग निर्माण कार्य सम्पन्न हुने समयसीमा, देखिएका समस्या र तिनको समाधानका लागि आवश्यक नीतिगत निर्णयबारे छलफल गरेका थिए ।
उनले वाग्मती नदी सफाइका लागि सहायक खोला तथा नदी किनार व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको बताए । त्रिपुरेश्वरतर्फका संरचना तोकिएकै समयभित्र सम्पन्न गर्ने प्रतिबद्धता निर्माण व्यवसायीले जनाएका छन् ।





