विपद् व्यवस्थापनमा दमकलसँगै एम्बुलेन्स परिचालन प्रणाली कार्यान्वयनमा छ : मेयर महर्जन



ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संकटका परिस्थितिमा पनि महानगरपालिकाले आफ्नो दायित्वबाट कहिल्यै पछि नहटेेको बताएका छन् । शनिबार महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन ‘ब्लक–बी’को उद्घाटन समारोहमा बोल्दै उनले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारे ।

मेयर महर्जनका अनुसार जेनजी आन्दोलनका बेला पनि आगलागी लगायतका विपद् व्यवस्थापनका कार्य प्रभावकारी रूपमा सम्पन्न गरिएको थियो । उनले विपद् व्यवस्थापनका सबै अवयवलाई एउटै छानामुनि ल्याएर सञ्चालन गरिएको र यसलाई अझ सुदृढ बनाउन छिट्टै थप दुई वटा एम्बुलेन्स व्यवस्था गर्न लागिएको जानकारी दिए ।

विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन दमकल परिचालनसँगै एम्बुलेन्स पनि अनिवार्य रूपमा सँगै पठाउने व्यवस्था गरिएको उनले बताए । “ललितपुर महानगरपालिकाले डिआरआर (डिजास्टर रिस्क रिडक्सन) का सबै संयन्त्रलाई एउटै स्थानमा व्यवस्थापन गरेको छ । दमकल, एम्बुलेन्स, शवबाहन, नगर प्रहरी र आवश्यक सम्पूर्ण साधन–स्रोत त्यहाँ उपलब्ध छन्,” उनले भने, “घण्टी बज्नासाथ नगर प्रहरी, दमकल र एम्बुलेन्स तत्काल घटनास्थलतर्फ परिचालित हुन्छन् ।”

पुल्चोकस्थित जुद्ध बारुणयन्त्र परिसरमा विपद् व्यवस्थापनका सबै संयन्त्र केन्द्रित गरेर सेवा प्रवाह गरिएको जानकारी दिँदै मेयर महर्जनले हालैको आन्दोलनका बेला समेत महानगरले आफ्नो जिम्मेवारी निर्वाह गर्न कुनै कसर बाँकी नराखेको बताए । आगामी दिनमा यस प्रणालीलाई अझ व्यवस्थित र सशक्त बनाउँदै लैजाने योजना रहेको उनको भनाइ थियो । यसका लागि निकट भविष्यमै दुई वटा दमकल थप गर्ने तयारी भइरहेको उनले जनाए ।

कार्यक्रममा मेयर महर्जनले ललितपुर नगर क्षेत्रलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने कामलाई पनि तीव्र गतिमा अघि बढाइएको जानकारी दिए । – न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्