सुन्दरीजल–गोकर्ण ५ किमी राष्ट्रिय ओपन स्केट म्याराथन सम्पन्न



काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र गोकर्णस्थित द स्केटल्याण्ड स्केटपार्कको संयुक्त आयोजनामा नेपालमै पहिलोपटक राष्ट्रिय स्तरको ओपन स्केट म्याराथन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

आज बिहान सुन्दरीजलबाट सुरु भई गोकर्णस्थित द स्केटल्याण्ड स्केटपार्कसम्म करिब ५ किलोमिटर दूरीमा आयोजना गरिएको उक्त प्रतियोगिताको उद्घाटन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिजाल र नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालले संयुक्त रूपमा गरेका थिए। सयौँ स्केटरहरूको सहभागितामा उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको थियो।

नेपालमै पहिलोपटक आयोजना भएको यस प्रतियोगितामा महिला–पुरुष गरी करिब २०० जना स्वदेशी तथा विदेशी खेलाडी सहभागी भएका थिए। प्रतियोगिता कागेश्वरी मनोहरा नगरपालिका–सुन्दरीजल, आलापोट चोकबाट सुरु भई गोकर्णेश्वर नगरपालिका–तालिन्चोकस्थित द स्केटल्याण्ड स्केटपार्कसम्म सञ्चालन गरिएको थियो।

महिला तर्फ

  • प्रथम: निमिशा पाख्रिन
  • द्वितीय: मोनिका मगर
  • तृतीय: सिवानी रेग्मी

पुरुष तर्फ

  • प्रथम: साम्देन ग्याल्बो शेर्पा
  • द्वितीय: अनिश गुरुङ
  • तृतीय: सफल थापा

प्रमुख प्रशिक्षक दिलिपराज बरालका अनुसार विजेताहरूलाई नगद पुरस्कारसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो। प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको हो। पुरस्कार वितरण नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिजाल र संघका अध्यक्ष अच्युत खनालले संयुक्त रूपमा गरेका थिए।

पुरस्कार वितरण समारोहमा बोल्दै अध्यक्ष जीवनराम श्रेष्ठले नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले स्केटिङ विधामा नियमित प्रतियोगिता आयोजना गर्दै आएकोप्रति प्रशंसा गर्दै यस खेलले निकट भविष्यमै राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि पदक दिलाउने विश्वास व्यक्त गरे। गोकर्णेश्वर नगरपालिकाका मेयर रिजालले भविष्यमा यस्ता खेलकुद प्रतियोगितामा नगरपालिकाले आवश्यक लगानी गर्ने प्रतिबद्धता जनाए।

त्यसैगरी संघका केन्द्रीय अध्यक्ष अच्युत खनालले स्केटिङ खेलको विकासका लागि आगामी दिनमा प्रतियोगितात्मक र व्यावसायिक दुवै पक्षलाई अघि बढाउँदै देशभर विस्तार गरिने बताए।

आयोजक संघका महासचिव सत्य थापाका अनुसार प्रतियोगितामा नेपालका विभिन्न क्षेत्रका साथै विदेशबाट समेत सयौँ स्केटरहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्