
काठमाडौं, मंसिर २० – १९औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न खेलहरूमा तेजस्वी र पारामाउन्ट विजयी भएका छन्।
बुढानीलकण्ठ नगरपालिका–८ भंगालस्थित आयोजक भ्याली पब्लिक हाई स्कुलको कोर्टमा भएको जुनियर ब्वाइजतर्फ तेजस्वीले हिमशीलालाई २४–१९ ले पराजित गर्यो। त्यस्तै पारामाउन्टले बिएमसिएलाई २१–१५ ले हरायो। पारामाउन्टका सबिन तामाङले सर्वाधिक ७ अंक जोड्न सफल भए।

अर्को खेलमा पारामाउन्टले न्युटनसँग ३६–२६ को हार बेहो¥यो। न्युटनका लागि युनिक कार्कीले सर्वाधिक १२ अंक बटुले। हिमशीलाले शनिबार अर्को खेलमा पनि हार व्यहोर्नुपर्यो। उसले ओडिसीसँग २४–१८ को पराजय भोग्यो। ओडिसीका लागि सोहन तामाङले ११ अंक जोडे।
त्यस्तै एन्जल्स हार्टले भ्याली पब्लिकलाई ३०–२० ले हराउँदा अक्ष घलले ११ अंक योगदान दिए।
जुनियर ब्वाइजकै अन्य खेलमा विवेक घिमिरेको ११ अंकको प्रेरणामा एलएनएले न्युटनलाई २९–२१ ले पराजित गर्यो। भद्रकालीले राजन मेमोरियललाई १६–११ ले हराउँदा देवान्स गिरीले ६ अंक जोडे।

सिनियर ब्वाइजतर्फ, बोधि सदनले रोजमेरीलाई ३१–२१ ले पराजित गर्यो। बोधि सदनका सोहन खड्काले सर्वाधिक ८ अंक बटुले। भद्रकालीले बेलमन्टलाई ३२–२२ ले पराजित गर्यो।
सिनियर गर्ल्सतर्फ, जेबीले बेलमन्टलाई २३–१५, केभिकेएसएसले टिआईएलाई १६–११, न्युटनले ह्वाइट माउन्टेनलाई २८–१८, विद्या विकासले मञ्जरीलाई ४१–२५ तथा ल्यान्डमार्कले इबिएलाई १९–१७ ले हराएको छ।
यो प्रतियोगिता आगामी मंसिर २९ गतेसम्म सञ्चालन हुनेछ। सिनियर ब्वाइजमा २९ टोली तथा सिनियर गर्ल्स र जुनियर ब्वाइजमा समान २७–२७ टोलीको सहभागिता रहेको छ।
तीनै विधामा शीर्ष तीन स्थान हासिल गर्ने टोलीले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्। साथै प्रतियोगिताका मस्ट भ्यालुएबल प्लेअर, बेस्ट थ्री–पोइन्टर र सर्वाधिक स्कोरकर्तालाई शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ।
सिनियर ब्वाइज र सिनियर गर्ल्सतर्फ क्रमशः ग्रिनल्यान्ड र भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् भने जुनियर ब्वाइजको उपाधि त्रिज्योतिले जितेको थियो।
यो प्रतियोगिता २०६१ सालमा पहिलो पटक न्यौपानेकै पहलमा सुरु गरिएको हो। कोरोना महामारीका समय बाहेक यो प्रतियोगिता निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ।





