
पोखरा । पर्यटकीय राजधानी पोखरामा पहिलो पटक आयोजना हुन लागेको केज फाइट प्रतियोगिताको तयारी तीव्र पारिएको छ । कन्टेन्डर फाइट सिरिजको तेस्रो संस्करण अन्तर्गत नयाँ विधाका रूपमा समावेश गरिएको यो प्रतियोगिता साक यान्त मुवाथाईको आयोजनामा हुन लागेको हो ।

आगामी पुस १२ गते हुने अन्तर्राष्ट्रिय प्रतियोगिता नेपाल वारियर सिरिजको सहकार्यमा सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी खेलाडीहरूले विभिन्न विधामा प्रतिस्पर्धा गर्दै कुल १२ लाख रुपैयाँभन्दा बढी पुरस्कार रकम प्राप्त गर्नेछन् । फाइटको प्रवर्द्धन गर्दै पोखरामा आउने पर्यटकलाई थप मनोरञ्जन दिने उद्देश्यले केज फाइट आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
कार्यक्रम संयोजक तथा साक यान्त मुवाथाई नेपालका सञ्चालक खगेन्द्र क्षेत्रीका अनुसार प्रतियोगितामा नेपाल, भारत र श्रीलंकाका अनुभवी फाइटरहरू सहभागी हुनेछन् । प्रतियोगितामा कुल २५ वटा प्रोफेसनल फाइट समावेश गरिनेछ । खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको क्षेत्रीले बताए ।
प्रतियोगिताका लागि सहभागी सबै फाइटरहरू पुस १० गते पोखरा आइपुग्नेछन् । पुस ११ गते तौल मापन र प्राविधिक प्रक्रिया पूरा हुनेछ भने पुस १२ गते मुख्य इभेन्ट आयोजना गरिनेछ ।
संयोजक क्षेत्रीका अनुसार यस्ता प्रतियोगिताले नेपाली फाइटरलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित हुन महत्वपूर्ण अवसर प्रदान गर्नेछ । “रविन्द्र ढाँट र सुस्मिता थापा जस्ता प्रतिभाशाली खेलाडीहरू यस्तै प्रतियोगिताबाट उदाएका हुन्, यो नयाँ पुस्ताका लागि पनि ठूलो अवसर हो,” उनले भने । यस संस्करणको मुख्य इभेन्टमा सुस्मिता थापा प्रतिस्पर्धा गर्ने पनि क्षेत्रीले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।





