१३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता: आर्मी क्लब च्याम्पियन



काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा छ दिनसम्म सञ्चालन भएको च्याम्पियनसिपमा आर्मीले १० स्वर्ण, १२ रजत र १० कांस्य गरी कुल ३२ पदक हात पार्दै पहिलो स्थान हासिल गरेको हो ।

नेपाल पुलिस क्लब ६ स्वर्ण, ५ रजत र ४ कांस्यसहित दोस्रो स्थानमा रह्यो । सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले ४ स्वर्ण, २ रजत र २ कांस्य जित्दै तेस्रो स्थान सुरक्षित गर्‍यो ।

चिल्ड्रेन समूहमा ललितपुरको स्वस्तिक तेक्वान्दो डोजाङ ७ स्वर्ण, १ रजत र ४ कांस्यसहित प्रथम बन्यो । जैशीदेवल डोजाङ २ स्वर्ण र १ कांस्यसहित दोस्रो तथा गोदावरी डोजाङ १ स्वर्ण र ३ कांस्यसहित तेस्रो भयो । क्याडेटतर्फ पोखरी तेक्वान्दो डोजाङ २ स्वर्ण, १ रजत र ३ कांस्यसहित पहिलो बन्यो । स्वस्तिक डोजाङ १ स्वर्ण, १ रजत र १ कांस्यसहित दोस्रो तथा गोदावरी इन्टरनेसनल फिटनेस १ स्वर्ण, १ रजत र १ कांस्यसहित तेस्रो स्थानमा रह्यो । जुनियरतर्फ बिजेश्वरी सैनिक स्कुल ३ स्वर्ण र १ कांस्यसहित पहिलो, गोर्खाली डोजाङ २ स्वर्ण, १ रजत र १ कांस्यसहित दोस्रो तथा खुदुनाबारी डोजाङ १ स्वर्ण र १ कांस्यसहित तेस्रो स्थानमा रह्यो ।

सिनियरतर्फ पुरुषतर्फ नेपाल पुलिस क्लबका आशिष भण्डारी र महिलातर्फ आर्मीकी स्वस्तिका तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । चिल्ड्रेन वर्गमा पुरुषतर्फ स्वस्तिक तेक्वान्दो डोजाङका सुमन तामाङ र महिलातर्फ विष्णुदेवी डोजाङकी रेश्मा गुरुङ उत्कृष्ट खेलाडी बने । क्याडेटतर्फ पुरुषमा पोखरी डोजाङका करण यादव र महिलामा गोदावरी डोजाङकी युमी पाख्रिन उत्कृष्ट घोषित भए । जुनियरतर्फ पुरुषमा जैशीदेवल डोजाङका राहुल हाङ लिम्बू र महिलामा सानोठिमीकी सोया चक्रधर सर्वोत्कृष्ट खेलाडी बने ।

विजेता टोली तथा उत्कृष्ट खेलाडीलाई पूर्व युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपक राज गुरुङ, उपाध्यक्ष एवं प्रतियोगिता संयोजक भानबहादुर चन्द, महासचिव हेमन्त डाँगी, केन्द्रीय सदस्य बब्लु सिवाकोटीलगायतले पुरस्कार प्रदान गरेका थिए ।

नेपाल तेक्वान्दो संघको आयोजनामा तथा नेपालस्थित दक्षिण कोरियाली दूतावासको विशेष सहयोगमा मंसिर १५ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र भुटानका खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा ग्योरोगी, पुम्से र पारा तेक्वान्दो तीनवटै विधामा १ हजार ५ सय ३० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्