
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरेको ‘मिसन २०२६’ अन्तर्गतका पारा तेक्वान्दो खेलाडी अमिर भ्लोनले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

शुक्रबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा सम्पन्न पारा तेक्वान्दोको के–४४ विधा अन्तर्गत पुरुष ६३ केजीमुनि तौल समूहको फाइनलमा भ्लोनले संखुवासभाका पासाङ शेर्पालाई पराजित गर्दै स्वर्ण हात पारेका हुन् । यसै तौल समूहमा बाजुराका लोकराज शाही ठकुरीले कास्य पदक जिते ।
त्यस्तै, पुरुष ५४ केजीमुनि चितवनका विवेक श्रेष्ठले पहिलो स्थान हासिल गरे । उनले फाइनलमा भुटानका टाँशी रिग्देन दोर्जेलाई पराजित गरे भने झापाका निश्चल प्रसाईं तेस्रो भए । पुरुष ५८ केजीमुनि पारालिम्पियन भरत सिंह महताले पाकिस्तानका जोन शलिमलाई हराउँदै स्वर्ण पदक जिते ।
पारा तेक्वान्दोको के–४१ विधातर्फ पुरुष ५८ केजीमुनि दिपेश महतले भारतका प्रमोद प्रसादलाई पराजित गर्दै स्वर्ण जिते । महिलातर्फ के–४४ विधाको ४७ केजीमुनि नुवाकोटकी रेनु तामाङ प्रथम भइन् । उनले फाइनलमा इलामकी कामना प्रसाईंलाई पराजित गरिन् ।
पुम्से तर्फ पी–३० विधामा चितवनका विक्रम श्रेष्ठले सुनसरीका सुबास चन्द्र राईलाई हराउँदै स्वर्ण पदक आफ्नो नाममा लेखाए ।
प्रतियोगिता संयोजक भानबहादुर चन्दका अनुसार च्याम्पियनसिप अन्तर्गत आयोजित पारा तेक्वान्दो प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान र भुटानका खेलाडीहरूले सहभागिता जनाएका थिए ।





