
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीनवटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकखण्डमा पर्ने फापरखेतको पहिरो दीर्घकालीन चुनौती बन्दै आएको छ । सो पहिरोको विकल्पका रूपमा म्याग्दी नदीमाथि बेलिब्रिज निर्माण गर्ने योजना तयार भए पनि कार्यान्वयन अझै अन्यौलमै परेको छ ।
फापरखेतको जोखिमयुक्त सडक खण्डको विकल्पका रूपमा मङ्गला गाउँपालिका–३ पखेर र वडा नं २ सिमलचौर जोड्ने गरी मोटरेबल बेलिब्रिज निर्माण गर्ने योजना थियो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा यसका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरे पनि संघीय सरकारले बेलिब्रिज उपलब्ध नगराउँदा योजना अघि बढ्न सकेको छैन ।
म्याग्दी क्षेत्र नं १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीका अनुसार संघीय सरकारको ढिलाइका कारण योजना अलपत्र परेको हो । “प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले दुई वर्षअघि नै संघीय भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयसँग ५५ मिटर लामो जगेडा बेलिब्रिज माग गरेको थियो,” उनले भने, “संघीय सरकारले बेलिब्रिज उपलब्ध गराउने र प्रदेश सरकारले जडान तथा पहुँचमार्ग निर्माण गर्ने सहमति भए पनि त्यो कार्यान्वयन हुन सकेको छैन ।”
प्रतिनिधिसभाका निवर्तमान सांसद खमवीर गर्बुजाले आफू ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री हुँदा बेलिब्रिज व्यवस्थापनका लागि संघीय मन्त्रालयसँग समन्वय गरिरहेको बताए । “बेलिब्रिज प्रदेश सरकारलाई हस्तान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेकै बेला जेनजी आन्दोलनसँगै सरकार परिवर्तन भयो,” उनले भने, “पछिल्लो सरकार बनेपछि पनि निरन्तर पहल गर्दा पनि अझै ठोस उपलब्धि हुन सकेको छैन ।”
बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेत क्षेत्रमा सडकमुनि म्याग्दी नदी बग्छ भने माथितिर ठूलो पहिरो रहेको छ । विसं २०६० अघि सडक खुलेदेखि नै हरेक बर्खायाम वर्षासँगै यहाँ पहिरो खस्ने गरेको छ, जसका कारण २४ किलोमिटर लामो बेनी–दरवाङ सडक नियमित रूपमा अवरुद्ध हुँदै आएको छ । यसले दुर्घटनाको जोखिमसमेत बढाएको छ ।
पछिल्लो दुई महिनामात्रै यसै क्षेत्रमा माथिबाट खस्ने पहिरो र साँघुरो सडकका कारण दुईवटा मालवाहक ट्रक म्याग्दी नदीमा खसेर दुर्घटना भइसकेका छन् । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका साथै बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि यही सडक प्रयोग गर्दै आएका छन् ।
स्थानीयवासीलाई आवतजावत, बिरामीलाई अस्पताल पुर्याउन, दूध, तरकारी र फलफूल बजार पुर्याउन तथा दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी गर्न ठूलो समस्या भइरहेको मङ्गला गाउँपालिका–२ का ध्रुव खत्रीले बताए । “साँघुरो सडकमा सवारी गुडिरहेका बेला माथिबाट पहिरो खस्दा सवारीसाधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका छन्,” उनले भने, “जुनसुकै बेला पहिरो खस्ने डरले यात्रा निकै जोखिमपूर्ण बनेको छ ।”
फापरखेतको पहिरोका कारण म्याग्दी नदीमा निर्माणाधीन तीनवटा जलविद्युत् आयोजना, डाडाखेत–राहुघाट सबस्टेसन तथा प्रसारण लाइन, साथै सडक, भवन, खानेपानी र सिँचाइसम्बन्धी विकास आयोजनामासमेत प्रत्यक्ष असर परेको छ ।
तत्कालीन जिल्ला विकास समितिले सडकमुनि पक्की पर्खाल निर्माण गरी म्याग्दी नदीको कटान रोक्ने प्रयास गरे पनि सडकमाथिको पहिरो नियन्त्रणका लागि गरिएका प्रयास भने असफल भएका छन् । अहिले पूर्वाधार विकास कार्यालय म्याग्दीले सडकमाथि खसेको पहिरो हटाएर अस्थायी रूपमा यातायात सञ्चालन गराउँदै आएको छ ।
स्थायी समाधानका लागि प्रस्तावित बेलिब्रिज योजना तत्काल अघि नबढे जोखिम अझै बढ्ने स्थानीयवासीको भनाइ छ ।





