दिक्तेलका महिलालाई मुढा बनाउने व्यावसायिक तालिम, आत्मनिर्भर बन्ने लक्ष्य



खोटाङ । बेरोजगार रहेका स्थानीय महिलालाई लक्षित गर्दै दिक्तेल बजारमा मुढा बनाउने सीप विकाससम्बन्धी तालिम सुरु गरिएको छ । दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–१, दिक्तेलस्थित कालिका वडास्तरीय महिला समूहको आयोजना तथा टेवा संस्था नेपालको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

स्थानीय देविस्थान एकता समाज दिक्तेलको सभाहलमा जारी तालिममा सहभागी महिलाहरूले मुढा उत्पादनका आधारभूतदेखि व्यवहारिक सीप सिकिरहेका छन् । तालिमले महिलालाई आत्मनिर्भर बनाउन र घरपरिवारको आम्दानी बढाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको महिला समूहकी अध्यक्ष लोकमाया थापा ‘गीता’ले बताइन् ।

तालिममा घर तथा कार्यालयमा प्रयोग हुने विभिन्न किसिमका गुणस्तरीय मुढा उत्पादन गर्ने तरिका सिकाइँदैछ । फुर्सदिला महिलालाई स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सुरु गरिएको तालिमले महिलाको सीप अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

तालिममा कालिका वडास्तरीय महिला समूहमा आबद्ध ११ जना महिला तथा अन्य स्थानीय एक महिला र एक पुरुष गरी जम्मा १३ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । दश दिनसम्म सञ्चालन हुने तालिमको सहजीकरण सिटिइभिटिइबाट मान्यताप्राप्त प्रशिक्षक भलकाजी विश्वकर्माले गरिरहेका छन् ।

सहभागी महिलाहरूले बाँसको कप्टेरा, प्लास्टिक (नायलन)को डोरी तथा साइकलको टायर प्रयोग गरेर विभिन्न प्रकारका मुढा निर्माण गरिरहेका छन् । बेरोजगारीमा दिन बिताउँदै आएका महिलाहरू आफ्नै गाउँमै व्यावसायिक तालिममा सहभागी हुन पाउँदा उत्साहित देखिएका छन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा यस्ता मुढाको मूल्य रु ५०० देखि रु ७५० सम्म पर्ने गर्दछ । वर्ष दिनअघि मात्र स्थापना गरिएको कालिका वडास्तरीय महिला समूहले यसअघि नेतृत्व विकास तालिम तथा मानव सेवासम्बन्धी गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्