
तनहुँ । पाँच वर्ष कतारमा श्रम गरेपछि स्वदेश फर्किएका व्यास नगरपालिका–१३ बेनीकोटका लेखबहादुर थापा अहिले सुन्तलाखेतीमै रमाइरहेका छन् । “विदेशमा हुँदा सन्तुष्टि मिलेन, अहिले आफ्नै गाउँमा बसेर सुन्तलाखेती गरिरहेको छु,” उनले भने, “यसैबाट घरखर्च धान्न सहयोग पुगेको छ ।”
छुट्टीमा घर आउँदा अरूले सुन्तला बेचेरै राम्रो आम्दानी गरेको देखेपछि आफू पनि यही पेशामा लागेको थापाको भनाइ छ । “विदेश गएर दुःख गर्नु नै पर्छ, त्यही दुःख आफ्नै देशमै गर्न सके केही उपलब्धि हुन्छ जस्तो लाग्यो,” उनले भने ।
यस वर्ष उनले २५० बोट सुन्तलाबाट करिब तीन लाख ७० हजार रुपैयाँ बराबरको बिक्री गरेका छन् । “खेती विस्तार गर्न सके अझै आम्दानी बढाउन सकिन्छ,” उनले आशा व्यक्त गरे । तर यस वर्ष बेनीकोट क्षेत्रमा सुन्तलामा रोग लागेकाले उत्पादन घटेको उनले गुनासो गरे । “के रोग लाग्यो भन्ने नै पत्ता लाग्न सकेन, केही बोट त मर्नसमेत थाले,” उनले बताए ।
गिरबहादुर आले पनि वैदेशिक रोजगारी छोडेर सुन्तलाखेतीमै लागेका किसान हुन् । “विदेश सबैका लागि फाइदाजनक हुँदैन,” उनले भने, “उमेर विदेशमै बिताउनुभन्दा गाउँमै केही गरौँ भनेर सुन्तलाखेती थालेँ ।” उनले यस वर्ष साढे तीन लाखभन्दा बढीको सुन्तला बिक्री गरेका छन् ।
तर अघिल्ला वर्षको तुलनामा यस वर्ष उत्पादन घटेको उनको अनुभव छ । “जरो कुहिने रोग देखियो, जलवायु परिवर्तनको असर हो कि भन्ने शंका छ,” उनले भने, “कृषकलाई मौसमले पनि ठग्दो रहेछ ।”
अगुवा कृषक दलबहादुर थापाले यस वर्ष १६ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री भएको जानकारी दिए । अघिल्लो वर्ष उनले १३ लाख रुपैयाँको बिक्री गरेका थिए । उनका अनुसार बेनीकोट क्षेत्रमा १०० भन्दा बढी कृषक सुन्तलाखेतीमा आबद्ध छन् र अधिकांशको मुख्य आम्दानीको स्रोत यही हो ।
“विगत केही वर्षदेखि सुन्तलाका बोट मर्ने समस्या बढ्दै गइरहेको छ,” उनले भने, “कृषि प्राविधिक आएर औषधि सिफारिस गरे पनि उल्लेख्य सुधार देखिएको छैन ।” यहाँ उत्पादन भएको सुन्तला काठमाडौँको कालीमाटी बजारसम्म पुग्ने गरेको र बजारीकरणमा समस्या नभएको उनले बताए । यस वर्ष प्रतिकिलो सुन्तला एक सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।
बेनीकोट क्षेत्र भिरालो जमिन भएकाले अन्य खेतीभन्दा सुन्तलाखेती उपयुक्त रहेको कृषकहरू बताउँछन् । “मकै, कोदो त लगाउन सकिन्छ, तर आम्दानी सुन्तलाबाटै राम्रो हुन्छ,” थापाले भने ।
यहाँका कृषकले कम्तीमा २० देखि ८०० बोटसम्म सुन्तला लगाएका छन् । मङ्सिर धान भित्र्याउने याम भए पनि बेनीकोटका करिब १०० घरपरिवार यतिबेला सुन्तला टिप्न र बिक्री गर्न व्यस्त छन् । यहाँ वार्षिक २० हजारदेखि १६ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।
कात्तिकदेखि मङ्सिरसम्म सुन्तला टिपेर बिक्री गर्ने परम्परा रहेको यस क्षेत्रमा कृषक आफैँले बिक्री गर्दा व्यास नगरपालिकाले प्रति क्रेट १० रुपैयाँ कर लिने गरेको गुनासोसमेत गरेका छन् ।





