तिला जलविद्युत् आयोजनाबाट ३८.०७ मेगावाट उत्पादन गर्न साढे सात अर्बभन्दा बढी लागत लाग्ने



जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण प्रस्तावित तिला जलविद्युत् आयोजनाबाट ३८.०७ मेगावाट विद्युत् उत्पादन गर्न करिब रु सात अर्बभन्दा बढी लागत लाग्ने भएको छ ।

तिला गाउँपालिका–१ र ७ तथा कालिकोटको तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ प्रभावित क्षेत्रका लागि पहिलो चरणको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदनमाथि सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । आयोजनाका परामर्शदाता तथा वातावरणविद् सुरेन्द्रदेव भट्टका अनुसार तिला नदीमा निर्माण हुने उक्त आयोजनाको सम्भाव्यता अध्ययन चार वर्षअघि नै सम्पन्न भइसकेको छ । आयोजनाको डिजाइन डिस्चार्ज ५२.५१ घनमिटर प्रतिसेकेन्ड रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत विद्युत् विकास विभागबाट आयोजनाको नापजाँच २०७८ सालमै स्वीकृत भइसकेको विभागले जनाएको छ । आयोजना सञ्चालनमा आएसँगै रोजगारी सिर्जना, रोयल्टी, शेयर, सामुदायिक सहयोग कार्यक्रम तथा स्थानीय व्यापार–व्यवसायमार्फत आयआर्जनका अवसर बढ्ने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए । उनका अनुसार यस आयोजनाबाट स्थानीयदेखि राष्ट्रियस्तरसम्म आर्थिक लाभ पुग्ने अपेक्षा गरिएको छ ।

उत्पादन भएको विद्युत् १३२ केभी सिङ्गल सर्किटको प्रसारण लाइनमार्फत जुम्ला बजारको सबस्टेसनमा जोडिनेछ । विद्युत् गृहबाट निष्कासन भएको पानी २५ मिटर लामो टेलरेस टनेलमार्फत पुनः तिला नदीमै फर्काइनेछ । आयोजनाका सम्पूर्ण संरचना तिला नदीको बाँया किनारमा रहनेछन् । विद्युत् विकास विभागका उपसचिव गोपिप्रसाद शाहका अनुसार आयोजनाको कुल लागत रु सात अर्ब ५६ करोड ७४ लाख अनुमान गरिएको छ ।

आयोजनाबाट उत्पादन भएको विद्युत् ३०.२० किलोमिटर लामो १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत जुम्ला बजारमा जोडिनेछ । आयोजना निर्माणका लागि कुल ७.५८५ हेक्टर जग्गा आवश्यक पर्नेछ । यसमध्ये ४.७७२ हेक्टर वन क्षेत्र र २.८१३ हेक्टर निजी जग्गा पर्ने उपसचिव शाहले जानकारी दिए ।

निर्माण अवधिमा स्थानीयलाई रोजगारीमा विशेष प्राथमिकता दिइनेछ । साथै स्थानीयले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा व्यापार–व्यवसाय गर्न सक्ने भएकाले आयआर्जनमा वृद्धि हुने अपेक्षा गरिएको तिला गाउँपालिका–७ का वडाध्यक्ष खुम्बिलाल रोकायाले बताए ।

आयोजना निर्माण तथा सञ्चालनका क्रममा कुल ३४ घरधुरी प्रत्यक्ष रूपमा प्रभावित हुने देखिएको छ । प्रत्यक्ष प्रभावित घरधुरीको विवरण सम्बन्धित वडा कार्यालयमा टाँस गरिएको आयोजनाले जनाएको छ । आयोजना सम्बन्धी अध्ययन प्रक्रिया पूरा भएपछि निर्माण कार्य अगाडि बढाइने तिला जलविद्युत् आयोजनाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्