
मुस्ताङ । अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजीवन प्रभावित बन्दै गएको छ। दिउँसो घाम लागेको बेला केही न्यानोपन महसुस भए पनि बिहान र बेलुकीको समय माइनस तापक्रमका कारण स्थानीयवासी, कर्मचारी तथा सुरक्षा निकायको दैनिक जीवन निकै कठिन बनेको छ।
लोमान्थाङ–२ छोसेरका वडाध्यक्ष कर्मा नाम्गेल गुरुङका अनुसार बिहान र बेलुकीको तापक्रम माइनस १५ डिग्री सेल्सियससम्म झर्ने गरेको छ। चिसोका कारण सिँचाइ कुलो, घरघरका धाराको पानी, शौचालयका सेफ्टी ट्याङ्की तथा साना खोलानालामा समेत हिउँ जम्न थालेको उनले बताए।
“धाराबाट जीवनज्योतको पानी नै झर्न बन्द भएको छ। दिउँसो घाम लाग्दा कुलोको पानी तताएर खानुपर्ने अवस्था आएको छ,” वडाध्यक्ष गुरुङले भने। घाम नलागेका बेला भने ग्यास वा आगोमा पानी तताएर मात्र प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनले बताए। छोसेरमा खानेपानीका तीनवटा ट्याङ्की एकसाथ सञ्चालन गरिँदै आएको भए पनि चिसोका कारण अब आलोपालो गरेर सञ्चालन गर्नुपरेको छ।
यस वर्ष हिउँदयाम सुरु भएसँगै कात्तिक महिनाअघि नै माथिल्लो मुस्ताङका अधिकांश नागरिक बेसी झरेको वडाध्यक्ष गुरुङले जानकारी दिए। गत वर्ष नाका पूर्ण रूपमा सञ्चालनमा नआएका कारण यस समयसम्म गाउँका अधिकांश नागरिक बेसी झरिसकेका थिए। तर यस वर्ष भने नाकामा व्यापार सञ्चालन भइरहेकाले करिब तीन सय नागरिक अझै यथास्थानमै बसेको उनले बताए।
उता, लामान्थाङ क्षेत्रमा पनि चिसोका कारण नागरिक धमाधम बेसी झर्न थालेका छन्। स्थानीय पर्यटन व्यवसायी राम गुरुङका अनुसार लोमान्थाङमा पर्यटक लक्षित करिब दुई दर्जन होटल सञ्चालनमा रहेकामा दुई तिहाइभन्दा बढी होटल बन्द भइसकेका छन्। अब सञ्चालनमा रहेका होटल पनि एक साताभित्रै बन्द हुने अवस्था आएको उनले बताए।
“माथिल्लो मुस्ताङमा पर्यटकको आगमन न्यून छ। चिसोका कारण स्थानीय र पर्यटन व्यवसायी दुई महिना जाडो छल्न होटल बन्द गरेर बेसी झर्न थालेका छन्,” गुरुङले भने, “यसले यहाँको जनजीवन निकै कष्टकर बनेको छ।”
अत्यधिक चिसोका कारण सिँचाइ कुलो जमेर घाम लाग्दा पानी बाहिर बग्ने जोखिम बढेपछि सम्भावित विपद् रोक्न सिँचाइ पानीको मुहान नै बन्द गरिएको लोमान्थाङका वडाध्यक्ष ढुक्के विष्टले जानकारी दिए। उनका अनुसार चिसोका कारण विकास निर्माणका काम पनि पूर्ण रूपमा ठप्प भएका छन्।
यद्यपि, चिसो बढेपनि माथिल्लो मुस्ताङका प्रहरी एकाइहरू बेसीमा मर्ज गर्ने योजना नरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। कोरला नाका र भन्सार कार्यालय सञ्चालनमै रहेकाले सुरक्षा व्यवस्थालाई निरन्तरता दिइने प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। लोमान्थाङ गाउँपालिकाअन्तर्गत लोमान्थाङ, छोसेर, छोनुप र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गत चराङ, घमी तथा सुर्खाङका प्रहरी एकाइहरू हिउँदयामभरि यथास्थानमै रहने उनले बताए।
“भारी हिमपात वा अत्यन्तै विषम परिस्थिति आएमा मात्रै प्रहरी एकाइलाई तल झारिन्छ,” बस्यालले भने, “सामान्य चिसोकै कारण माथिल्लो क्षेत्र खाली गर्ने कुनै योजना छैन।”





