भ्याली पब्लिकका तीनै टोली विजयी सुरुआतमा



काठमाडौं, मंसिर १९ — आयोजक भ्याली पब्लिक हाई स्कुलका तीनै टोलीले १९औं संस्करणको भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शानदार विजयी सुरुआत गरेका छन्।

बुढानीलकण्ठ नगरपालिका–८ स्थित भंगालमा शुक्रबारदेखि सुरु प्रतियोगितामा भ्याली पब्लिकको सिनियर गल्र्स ‘ए’ र ‘बी’ दुवै टोलीसँगै सिनियर र जुनियर ब्वाइज टोलीले पहिलो खेलमै जित निकालेका हुन्।

सिनियर गल्र्स समूह ‘ए’ अन्तर्गत भ्याली पब्लिक ‘ए’ ले टिआएलाई ३२–२५ ले पराजित गर्‍यो। उक्त खेलमा लोरिसा गौचनले आयोजकका लागि सर्वाधिक ११ अंक जोडिन्। समूह ‘एच’ मा रहेको भ्याली पब्लिक ‘बी’ ले इडन ब्रिज एकेडेमीलाई २२–१७ ले हरायो। उक्त खेलमा सानीमाया तामाङले १० अंक जोड्दै उत्कृष्ट प्रदर्शन गरिन्।

सिनियर ब्वाइजतर्फ भ्याली पब्लिक ‘ए’ ले भद्रकालीलाई ४७–३२ ले पराजित गर्‍यो। आयोजकका अशोक विकले सर्वाधिक २६ अंक जोडे। यो समूह ‘ए’ मा भ्याली पब्लिक ‘ए’, भद्रकाली, बेलमन्ट र ग्रिनल्यान्ड रहेका छन्। जुनियर ब्वाइजमा पनि भ्याली पब्लिकले भद्रकालीलाई १४–९ ले हराउँदै विजयी सुरुआत गर्‍यो। पूर्णराज तामाङले एक्लैले ९ अंक जोडे। समूह ‘एफ’ मा यी दुई टोलीसँगै एन्जल हार्ट र राजन मेमोरियल रहेका छन्।

जुनियर ब्वाइजका अन्य खेलमा इडन ब्रिजले सेन्ट जोशेफलाई २१–१५, बिएनएले बिएमसिएलाई ३१–२४ र क्यानभासले किङ्डमलाई १८–१४ ले हराए।
सिनियर ब्वाइजमा हेराल्डले भ्याली पब्लिक ‘बी’ लाई १९–१४, रेडियेन्टले सेन्ट जोसेफलाई २०–१६ र जिनियस वर्ल्डले क्यानभासलाई २७–२२ ले पराजित गरे।

सिनियर गल्र्सतर्फ हिमशिलाले क्यानभासलाई १८–१४, फेरिल्यान्डले नेक्ससलाई १४–९ र त्रिज्योतिले एन्जल्स एनएचएसलाई १८–१३ ले हराउँदै विजयी सुरुआत गरेका छन्।

यसअघि प्रतियोगिताको उद्घाटन भ्याली पब्लिक हाई स्कुल व्यवस्थापन समितिका अध्यक्ष मेजर लिलबहादुर गुरुङले रेफ्री दीपेशलाई बल हस्तान्तरण गर्दै गरेका थिए। उद्घाटन समारोहमा व्यवस्थापन समितिकी सदस्य बबिता सेरचन गौचन, विद्यालयका प्रशासन प्रमुख महेश अधिकारी र खेलकुद इन्चार्ज पूर्ण न्यौपानेलगायतको उपस्थिति थियो।

प्रतियोगिता आगामी मंसिर २९ गतेसम्म सञ्चालन हुनेछ। सिनियर ब्वाइजतर्फ २९ टोली र सिनियर गल्र्स तथा जुनियर ब्वाइजतर्फ समान २७–२७ टोली सहभागी छन्। तीनै विधामा शीर्ष तीन स्थान हासिल गर्ने टोलीले क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कारसँगै ट्रफी प्राप्त गर्नेछन्। साथै, मस्ट भ्यालुएबल प्लेअर, बेस्ट थ्री–पोइन्टर र सर्वाधिक स्कोरकर्तालाई शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ।

सिनियर ब्वाइज र सिनियर गल्र्समा क्रमशः ग्रिनल्यान्ड र भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् भने जुनियर ब्वाइजको उपाधि अघिल्लो संस्करणमा त्रिज्योतिले जितेको थियो। २०६१ सालमा पहिलोपटक सुरु गरिएको यो प्रतियोगिता कोरोना महामारीको समयबाहेक नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्