
काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औँ कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन्। सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रबार सम्पन्न खेलमा गीता सिनियर महिलाको ५३ केजीमुनि तौलसमूहमा र अभिषेक सिनियर पुरुषको ८० केजीमुनि तौलसमूहमा स्वर्ण विजेता बनेका हुन्। दुवै खेलाडी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरेको ‘मिसन–२०२६’ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका खेलाडी हुन्।

सिनियर महिलातर्फ आर्मीकी बीणा नाथले रजत पदक जित्दा चन्द्रनिगाहपुरकी कञ्चन खड्का र आर्मीकी आरती सिंहले कांस्य पदक प्राप्त गरे। पुरुषतर्फ पारस चन्दले रजत जिते भने धौलागिरी डोजाङका विशान्त केसी र आर्मीका सुवास केसीले कांस्य पदकमा चित्त बुझाए।

सिनियर पुरुषको ६८ केजीमुनि तौलसमूहमा आर्मीका सगुन श्रेष्ठ प्रथम, आर्मीकै धनसिंह परियार द्वितीय तथा पोखरी डोजाङका अनिस जिसी र पुलिसका भुवन महरा संयुक्त तेस्रो भए। जुनियर पुरुषको ५५ केजीमुनि तौलसमूहमा दीलिप स्मृति डोजाङका करण ढोलीले स्वर्ण, ऋत डोजाङका राजु ऐरले रजत तथा नागार्जुन डोजाङका सुदीप नेपाल र कञ्चनपुरका क्रिस बुढाथोकीले संयुक्त कांस्य जिते।
यसै तौलसमूहको महिलातर्फ गोर्खाली डोजाङकी प्रतिमा भुजेलले स्वर्ण जित्दै गोर्खालीकै पूर्णिमा श्रेष्ठलाई पराजित गरिन्। काँकडभिट्टाकी तायामी राई र अल्फ डोजाङकी अञ्जना विष्टले कांस्य पदक हात पारे।
नेपाल तेक्वान्दो संघको आयोजनामा तथा नेपालस्थित दक्षिण कोरियाली दूतावासको विशेष सहयोगमा सञ्चालन भइरहेको च्याम्पियनसिपमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र भुटानका खेलाडीहरूको सहभागिता रहेको छ। प्रतियोगिता मंसिर २० गतेसम्म सञ्चालन हुनेछ। च्याम्पियनसिपमा ग्योरोगी, पुम्से र पारा तेक्वान्दो विधा समावेश गरिएको छ।
प्रतियोगिता संयोजक भानबहादुर चन्दका अनुसार तीनवटै विधामा एक हजार पाँच सय ३० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।





