
काठमाडौँ । नेपाल–श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससीसीआई) का पदाधिकारीहरूले नेपालका लागि श्रीलंकाकी राजदूत रुवान्ती डेल्पिटियासँग औपचारिक भेटवार्ता गरेका छन्। काठमाडौंको बुढानिलकण्ठस्थित श्रीलंका दूतावासमा सम्पन्न उक्त भेटमा एनएससीसीआईका अध्यक्ष विजय श्रेष्ठ, माननीय सदस्य डा. राजेश काजी श्रेष्ठ, महासचिव नरेन्द्र बल्लभ पन्त तथा सदस्य कुमार दाहाल सहभागी थिए।
भेटघाटका क्रममा राजदूत डेल्पिटियाले नेपाल र श्रीलंकाबीच आगामी दिनमा व्यापारिक तथा व्यावसायिक गतिविधि थप विस्तार हुने विश्वास व्यक्त गरिन्। २०२६ को जुन महिनामा श्रीलंकामा आयोजना हुने औद्योगिक एक्स्पोमा नेपालका प्रतिनिधिमण्डलको सहभागिताबारे छलफल भएको छ। साथै, भविष्यमा नेपालमै पनि यस्तै प्रकृतिको एक्स्पो आयोजना गर्ने र त्यसमा श्रीलंकाका व्यवसायिक प्रतिनिधिहरू सहभागी गराउने विषयमा समेत सहमति भएको अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए।
भेटमा दुई देशबीच व्यापार, लगानी, संयुक्त उद्यम, सेवा क्षेत्र, व्यवसायिक भ्रमण तथा व्यावसायिक समूहहरूको आदानप्रदानका विषयमा विस्तृत छलफल गरिएको थियो। दुई देशबीचको पारस्परिक भ्रमण र सहकार्यले स्थानीय तथा राष्ट्रिय आर्थिक गतिविधि बढाउनुका साथै बजार विस्तार, आर्थिक विकासका पहल, विदेशी व्यापार र लगानी नीतिमा नियमित संवादलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
यसैगरी, नेपाल–श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको आगामी साधारणसभामा नेपालका लागि श्रीलंकाकी राजदूत डेल्पिटियालाई प्रमुख अतिथिका रूपमा सहभागिता गराउने विषयमा समेत छलफल भएको जनाइएको छ।





