राम चरित्र मेहताले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवको कार्यभार सम्हाले



काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव राम चरित्र मेहताले पदभार ग्रहण गर्नुभएको छ । मन्त्रालयको निर्णयअनुसार एक सातादेखि रिक्त रहेको यस पदमा अर्को व्यवस्था नभएसम्मका लागि मेहतालाई जिम्मेवारी दिइएको हो ।

खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा (१२) अनुसार मन्त्रालयले मंसिर १६ गते निर्णय गर्दै सहसचिव मेहतालाई सदस्य सचिवको जिम्मेवारी दिएको थियो । यसअघि मंसिर १२ गते टंकलाल घिसिङले चार वर्षे कार्यकाल पूरा गरी पदमुक्त भएपछि सदस्य सचिवको पद रिक्त रहेको थियो ।

पदभार ग्रहणका क्रममा सदस्य सचिव मेहताले परिषदका कर्मचारीहरूलाई सुशासन, पारदर्शिता र कानुनसम्मत ढंगले काम गर्न निर्देशन दिनुभयो । उहाँले आफू पदमा रहँदासम्म परिषदलाई उदाहरणीय संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

यस अवसरमा परिषदका कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई तथा कर्मचारी संघका अध्यक्ष सरस्वती केसीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, संगठन संरचना तथा व्यवस्थापन सर्वेक्षणलगायतका काम आगामी प्रमुख दायित्वका रूपमा रहेको उल्लेख गर्नुभयो ।

नवनियुक्त सदस्य सचिव मेहतालाई परिषदका कार्यकारी समिति सदस्य कमल भट्टराई र भानबहादुर चन्द, बोर्ड सदस्य, विभाग तथा शाखा प्रमुख र कर्मचारीहरूले स्वागत गर्नुभएको थियो ।

— खुशराज दाहाल
प्रचार–प्रसार शाखा, राखेप

प्रतिक्रिया दिनुहोस्