
काठमाडौं, मंसिर १९ — तीन विधामा सञ्चालन हुने भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको १९औँ संस्करण शुक्रबारदेखि सुरु हुने भएको छ। भ्याली पब्लिक हाई स्कुलको आयोजनामा बुढानीलकण्ठ नगरपालिका–८, भंगालमा मंसिर २९ गतेसम्म प्रतियोगिता सञ्चालन गरिनेछ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विद्यालयका संस्थापक तथा प्रिन्सिपल कृष्णप्रसाद अधिकारीले प्रतियोगिताबारे जानकारी दिएका हुन्। कार्यक्रममा विद्यालयका प्रशासन प्रमुख महेश अधिकारी तथा खेलकुद इन्चार्ज पूर्ण न्यौपानेको पनि उपस्थिति थियो।
प्रतियोगितामा सिनियर ब्वाइज, सिनियर गल्र्स र जुनियर ब्वाइज गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ। आयोजकका अनुसार सिनियर ब्वाइजतर्फ २९ टोली तथा सिनियर गल्र्स र जुनियर ब्वाइजतर्फ समान २७–२७ टोली सहभागी हुनेछन्।
प्रतियोगिता लिग कम नकआउट आधारमा सञ्चालन गरिनेछ। तीनै विधामा गरी कुल आठ समूह बनाइएको खेलकुद इन्चार्ज पूर्ण न्यौपानेले जानकारी दिए। प्रत्येक विधामा शीर्ष तीन स्थान हासिल गर्ने टोलीले क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।
साथै प्रतियोगिताका मोस्ट भ्यालुएबल प्लेअर (MVP), बेस्ट थ्री पोइन्टर र सर्वाधिक स्कोरकर्ता लाई शिल्ड र प्रमाणपत्र प्रदान गरिने विद्यालयले जनाएको छ।
गत संस्करणमा सिनियर ब्वाइजतर्फ ग्रिनल्यान्ड पब्लिक स्कुल, सिनियर गल्र्सतर्फ भ्याली पब्लिक हाई स्कुल र जुनियर ब्वाइजतर्फ त्रिज्योति विद्यालय च्याम्पियन बनेका थिए।
प्रतियोगिताको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेजर लिलबहादुर गुरुङ र संस्थापक प्रिन्सिपल कृष्णप्रसाद अधिकारीले संयुक्त रूपमा गर्ने कार्यक्रम तय भएको छ।
यो प्रतियोगिता २०६१ सालमा पूर्ण न्यौपानेको पहलमा सुरु गरिएको थियो। कोरोना महामारीको समयबाहेक प्रतियोगिता निरन्तर रूपमा हुँदै आएको आयोजकले जनाएको छ।





