
काठमाडौँ । आज विश्वभर अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकैसाथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यी दुवै दिवस हरेक वर्ष डिसेम्बर ५ का दिन सदस्य राष्ट्रहरूमा विभिन्न कार्यक्रमसहित मनाइने गरिन्छ ।
स्वयंसेवकहरूको योगदानको कदर गर्ने, स्वयंसेवाको भावना प्रवर्द्धन गर्ने तथा सेवा संस्कृतिलाई स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म विस्तार गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस सन् १९८५ देखि मनाउन थालिएको हो । सोही वर्ष संयुक्त राष्ट्रसङ्घीय महासभाले डिसेम्बर ५ लाई अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका रूपमा घोषणा गरेको थियो ।
यस अवसरमा आज न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको महासभा हलमा सदस्य राष्ट्रहरूले स्वयंसेवालाई विकास रणनीतिमा समेट्ने र राष्ट्रियस्तरका स्वयंसेवा अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाउने अपेक्षा गरिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
दिवसकै अवसरमा महासचिव एन्टोनियो गुटरेसले एक सन्देश जारी गर्दै विश्वभर कार्यरत स्वयंसेवकहरूप्रति आभार व्यक्त गरेका छन् । प्राकृतिक विपद्, द्वन्द्वग्रस्त क्षेत्र, गरिबी निवारण, मानव सेवा र सामाजिक पुनर्निर्माणमा खटिने स्वयंसेवकहरूको त्याग, साहस र मानवताले वर्तमान विश्वलाई मार्गदर्शन गरिरहेको उनले उल्लेख गरेका छन् । हाल राष्ट्रसङ्घका १६९ सदस्य देशमा शान्ति, न्याय र समानताको स्थापनाका लागि राष्ट्रसङ्घीय स्वयंसेवकहरू सक्रिय छन् ।
यस्तै, आजै विश्व माटो दिवस पनि मनाइँदै छ । स्वस्थ माटोको महत्वबारे जनचेतना फैलाउने तथा माटोको दिगो व्यवस्थापनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष डिसेम्बर ५ मा विश्व माटो दिवस मनाइन्छ । यस अवसरमा माटो संरक्षण, दिगो कृषि प्रणाली र जलवायु परिवर्तनका असर न्यूनिकरणसम्बन्धी विविध छलफल, अभियान र सचेतनामूलक कार्यक्रम सञ्चालन हुने गरेका छन् ।
कृषि उत्पादन, वातावरणीय सन्तुलन तथा समग्र मानव जीवनका लागि माटोको भूमिका अत्यन्तै महत्वपूर्ण भएकाले यसको संरक्षण र दिगोपनलाई प्राथमिकतामा राख्न विश्व समुदायलाई स्मरण गराउने यो दिवसको उद्देश्य रहेको राष्ट्रसङ्घले जनाएको छ । सन् २०१३ को जुनमा राष्ट्रसङ्घले औपचारिक रूपमा विश्व माटो दिवस मनाउने घोषणा गरेको थियो । कृषक, सरकार, वैज्ञानिक समुदाय र सर्वसाधारणलाई माटो संरक्षणप्रति सचेत र सक्रिय बनाउने यस दिवसको प्रमुख लक्ष्य हो ।





