
बागलुङ। एक समय भूजीखोलाको तिरैतिर फैलिएको बस्ती विकासको लयमा अघि बढ्दै थियो। भर्खरै सडकले छोएको बस्तीमा स्थानीयले मोटरबाटोको छेउछाउमा पक्की र कच्ची घर बनाउन थालेका थिए। नजिकै विद्यालय, स्वास्थ्य संस्था र साना जलविद्युत् आयोजना सञ्चालनमा थिए। विकट क्षेत्र भए पनि विकासले आशा पलाउँदै थियो। तर, विसं २०७७ भदौ १७ गते राति आएको भीषण बाढीले त्यो आशा क्षणभरमै मेटाइदियो।
उक्त बाढीले दर्जनौँको ज्यान लियो, सयौँलाई घरबारविहीन बनायो। ३७ जनाको ज्यान जाने गरी आएको बाढीमा १५ जना अझै बेपत्ता छन्। आफन्त र सर्वस्व गुमाएका पीडित पाँच वर्ष बितिसक्दा पनि राज्यको पूर्ण राहतको पर्खाइमै छन्। सरकारबाट पुनःस्थापनालाई प्राथमिकता दिने घोषणा भए पनि व्यवहारमा पीडितले अनुभूति गर्न नसकेको गुनासो छ।
बाढीले ढोरपाटन नगरपालिका–६, ७, ८ र ९ का १३१ घर बगाएको थियो। पीडितहरू ऋणधन गरेर अहिले घर त बनाइसकेका छन्, तर सरकारले दिने भनिएको राहत धेरैले अझै पाएका छैनन्। ढोरपाटन–९ का पीडित लालबहादुर विकले घर बनाउन रकम उपलब्ध गराइने आश्वासन पाए पनि पाँच वर्षसम्म कुनै सहयोग नआएको गुनासो गरे। बाढीले उनका जेठा छोरा र सम्पूर्ण सम्पत्ति बगाएको थियो।
“सबै गुमायौँ, छोरा गुमायौँ। पालमुनि बस्यौँ, ऋण काढेर घर बनायौँ। सरकारले राहत दिन्छ भन्यो, तर आजसम्म केही आएन। न सरकारको रकम आयो, न साहुको ऋण तिर्न सकियो,” विकले पीडा पोख्दै भने, “राहत आउँछ भन्ने आश पनि अब मरेजस्तै छ।”
अर्का पीडित नारायण पुनले सरकारले दिने भनिएको चार लाख रुपैयाँमध्ये अहिलेसम्म एक रुपैयाँ पनि नपाएको बताए। बाढीमा उनकी आमा र घर दुबै बगाएको थियो। केही आफ्नो कमाइ र केही ऋण गरेर घर बनाएको उनले सुनाए। “नेताहरूले आफ्ना नजिककालाई मात्रै राहत दिलाए, हामी जस्ता सिधा मान्छे पछाडि पर्यौँ,” पुनले भने, “राहत आउने विश्वासमा ऋण लिएर घर बनायौँ, तर आजसम्म राहत आएन।”
त्यस्तै, सोही स्थानका कुलबहादुर विकको पीडा झन् गम्भीर छ। बाढीले उनका २२ वर्षका जेठा छोरा, २१ वर्षकी बुहारी, १८ वर्षकी छोरी र चार वर्षकी नातिनीसहित घरजग्गा सबै बगाएको थियो। उनले घर बनाउन करिब पाँच लाख रुपैयाँ खर्च गरे पनि सरकारले दिएको रकम मात्र दुई लाख ५० हजार मात्रै भएको बताए। “परिवार नै गुमायो, सम्पत्ति नै गुमायो, त्यसमाथि ऋणको भारी थपियो,” उनले भने, “बिहान–बेलुकी के खाने भन्ने चिन्तामै दिन बितिरहेको छ, ऋण कसरी तिर्ने थाहा छैन।”
उक्त बाढीबाट ११ वटा लघुजलविद्युत् आयोजना, एक स्वास्थ्य एकाइ, ११ झोलुङ्गे पुल, १० काठे पुल, पाँच ढलान पुल, दुई विद्यालय र करिब २० किलोमिटर सडक क्षतिग्रस्त भएका थिए। ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतका अनुसार क्षतिग्रस्त विद्युत् आयोजना, विद्यालय, पुल र सडकको पुनर्निर्माण भइसकेको छ।
तर आवास पुनःस्थापनाको सवालमा भने समस्या कायम छ। “सङ्घीय सरकारले १८ जना पीडितलाई सबै किस्ता दिएको छ, तर धेरैले केवल एक किस्ता मात्रै पाएका छन्,” उपप्रमुख कायतले भने, “प्राविधिक स्टिमेटअनुसार घर बनाउनुपर्ने भए पनि विभिन्न कारणले पीडितले त्यो पूरा गर्न सकेनन्। अहिले सबैको घर बनेको छ, तर सरकारले दिने रकमको एक तिहाइसमेत धेरैले पाउन सकेका छैनन्। हामी निरन्तर पहल गरिरहेका छौँ।”
सबैथोक गुमाएर नयाँ जीवन सुरु गर्ने प्रयासमा रहेका भूजीखोलाका बाढीपीडित आज पनि राज्यको सहयोगको आसमा छन्। तर पाँच वर्ष बितिसक्दा पनि राहत नपाउँदा उनीहरूको आशा क्रमशः निराशामा परिणत हुँदै गएको छ।





