बेनी–९ तोरीपानीमा ‘सयपत्री’ सामुदायिक होमस्टे सञ्चालनमा



म्याग्दी । बेनी नगरपालिका–९ तोरीपानीमा ‘सयपत्री’ सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा आएको छ । गाउँमा आउने पाहुनालाई पारिवारिक वातावरणमा बसोबास गराउने उद्देश्यले पाँचवटा घरमा होमस्टे सेवा सुरु गरिएको हो ।

हाल जुना खत्री, रश्मी चोखाल, सुजना चोखाल, युव गिरी र जमुना श्रेष्ठको घरमा होमस्टे सञ्चालन भइरहेको समूहकी अध्यक्ष सीता खत्रीले जानकारी दिइन् । उनका अनुसार हाल एकदिनमा २१ जनासम्म पाहुना राख्ने क्षमता रहेको छ । “पर्यटकको चाप बढ्दै गएपछि थप घरहरूमा पनि होमस्टे विस्तार गर्ने योजना छ,” उनले भनिन् ।

पाहुनाका लागि प्रत्येक घरमा एकदेखि दुईवटा छुट्टै कोठा तयार पारिएको छ । खाट, बेड, विस्तार, शौचालयलगायतका सुविधालाई व्यवस्थित गरिएको छ । घरकै कोठाबाट हिमालको दृश्य अवलोकन गर्न सकिने सुविधा पनि रहेको छ ।

प्राकृतिक, सांस्कृतिक र जैविक विविधताले सम्पन्न तोरीपानीमा विभिन्न जातजातिको मिश्रित बसोबास छ । यहाँका संस्कार, रहनसहन र ग्रामीण जीवनशैली अवलोकन गर्नु पर्यटकका लागि आकर्षण बनेको छ । पाहुनालाई स्थानीय गौरीया गुडुरा जातको धानको भात, कोदो र फापरको ढिँडो तथा रोटी, टिमुरको चटनी, लोकल कुखुरा, खसीको मासु, दूध–दहीका परिकार चखाइने होमस्टे सञ्चालक युव गिरीले बताए ।

उनका अनुसार गाउँमै उत्पादन भएको खाद्यान्न, तरकारी, फलफूल र पशुजन्य परिकार पाहुनालाई पस्किने गरिएको छ । साथसाथै यानीमाया, पञ्चेबाजा र भजनमा सहभागी भई नाचगान गर्ने अवसर पनि पर्यटकलाई दिइन्छ । होमस्टे सञ्चालकहरूले आफैँ तरकारीखेती, कुखुरा तथा गाईभैँसीपालन गर्दै आएका छन् ।

तोरीपानी टिमुर उत्पादनको पकेट क्षेत्रका रूपमा पनि चिनिन्छ । यहाँको टिमुरको चटनी सयपत्री होमस्टेको विशेष परिकार हो । फर्कँदा पाहुनालाई टिमुर, भटमास र भागोको कोसेली दिइने गरिएको होमस्टे सञ्चालक जमुना श्रेष्ठले बताइन् । एक रात बस्नका लागि प्रतिव्यक्ति रु १,५०० शुल्क तोकिएको छ ।

होमस्टे सञ्चालनका लागि इको हिमालय संस्थाले तालिम तथा पूर्वाधार निर्माणमा सहयोग गरेको छ । संस्थाका निर्देशक नारायण ढकालका अनुसार प्रतिघर रु ७० हजार बराबरका सामग्री र समूहलाई रु दुई लाख बराबरको सहयोग उपलब्ध गराइएको छ । यसका साथै इको हिमालयले तोरीपानीमा टिमुर खेतीको विस्तार, गुणस्तर सुधार र बजारीकरणमा समेत सहयोग गर्दै आएको छ ।

समुद्री सतहदेखि एक हजार ७५० मिटर उचाइमा अवस्थित तोरीपानीबाट धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मानापाथी हिमशृङ्खलाको मनमोहक दृश्य देख्न सकिन्छ । विशेषगरी सूर्योदय र सूर्यास्तको समयमा हिमालको दृश्य अझ आकर्षक हुन्छ । बेनी बजारदेखि करिब नौ किलोमिटर उत्तरतर्फ रहेको तोरीपानी सवारीसाधनमा झण्डै ३० मिनेटमा पुग्न सकिन्छ ।

तोरीपानी नजिकै पर्यटकीय स्थल टोड्के, ऐतिहासिक ढोलथान दरबार र धार्मिक स्थल पछैं रहेका छन् । बाइसे–चौबिसे राज्यकालमा बर्खायामीन राजधानीका रूपमा उपयोग गरिएको ढोलथान दरबारका भग्नावशेष आज पनि देख्न सकिन्छ । तोरीपानी हुँदै पैदलयात्रा तथा सडक प्रयोग गरेर बेनी नगरपालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा अवस्थित टोड्केसम्म पुग्न सकिने व्यवस्था छ । साथै, फेदीमा गलेश्वर शिवालय मन्दिर अवस्थित छ, जसलाई मुक्ति क्षेत्रको प्रवेशद्वारका रूपमा चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस्