अलैँची निर्यातमा १०९ प्रतिशत उछाल, चिया निर्यात घट्यो



झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा अलैँची निर्यात दोब्बरभन्दा बढीले बढेको छ । कार्यालयका अनुसार यस अवधिमा अलैँची निर्यात १०९.२० प्रतिशतले वृद्धि भई तीन अर्ब ९७ करोड ४३ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चार महिनामा एक हजार ८२३.९० मेट्रिक टन अलैँची निर्यात भएको छ । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा एक अर्ब ९० करोड दुई लाख रुपैयाँ बराबरको मात्र अलैँची निर्यात भएको थियो ।

यता, चियाको निर्यात भने घटेको छ । चालु आवको चार महिनामा चिया निर्यात ३७.७० प्रतिशतले घट्दै एक अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा चिया निर्यात दुई अर्ब २० करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको थियो ।

कार्यालयको तथ्याङ्कअनुसार निर्यात बढेका अन्य प्रमुख वस्तुमा भेनियर सिट १३४.८० प्रतिशत, छुर्पी ३३ प्रतिशत, अदुवा तथा सुठो ३.२० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६.१० प्रतिशत तथा मुसुरो दाल ४८१ प्रतिशतले वृद्धि भएको छ ।

तर, प्लाउडको निर्यात ५२.७० प्रतिशत, अम्रिसो २३.९० प्रतिशत र फलामे पाताको निर्यात ९७.३० प्रतिशतले घटेको कार्यालयले जनाएको छ ।

मेची भन्सार कार्यालयबाट चालु आवको पहिलो चार महिनामा कुल सात अर्ब ९६ करोड सात लाख ३३ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्