
काठमाडौँ । अब काठमाडौँको रत्नपार्क (शंखधर उद्यान) मा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध हुने भएको छ । जाडो याममा घाम ताप्दै इन्टरनेट चलाउन मिल्ने गरी काठमाडौँ महानगरपालिकाले पार्कभित्र निःशुल्क वाइफाइ जडान कार्य सुरु गरेको हो ।
महानगरपालिका अन्तर्गतको हरियाली प्रवर्द्धन आयोजनाले नेपाल टेलिकमका छ वटा राउटर प्रयोग गरी ५०० एमबिपिएस क्षमताको इन्टरनेट जडान गरिरहेको छ । शंखधर उद्यान तथा रानीपोखरी एकाइका टेक्निसियन सुरेशकुमार श्रेष्ठका अनुसार मङ्सिरभित्रै रत्नपार्कका सम्पूर्ण क्षेत्रमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध हुनेछ ।
“छ वटा राउटरमार्फत तीव्र गतिको इन्टरनेट जडान भइरहेको छ । पार्कमा प्रवेश गर्ने सर्वसाधारणले चाँडै निःशुल्क वाइफाइ सेवा उपयोग गर्न पाउनेछन्,” श्रेष्ठले बताए ।
यसअघि अव्यवस्थित र अस्तव्यस्त अवस्थामा रहेको रत्नपार्कलाई काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७२/७३ मा करिब ८० लाख रुपैयाँ खर्चेर पुनर्निर्माण तथा व्यवस्थापन गरेपछि पार्कको स्वरूप पूर्ण रूपमा फेरिएको छ । पार्क व्यवस्थित बनेसँगै सर्वसाधारणको आवागमन पनि उल्लेख्य रूपमा बढेको छ ।
हाल रत्नपार्कमा वृद्धवृद्धा घाम ताप्न, युवायुवती फोटो खिच्न तथा रमाइलो गर्न दैनिक पुग्ने गरेका छन् । रत्नपार्क हाल ‘शंखधर पार्क’ नामले समेत चिनिन थालेको छ । महानगरपालिकाले विसं २०७२ असार १५ देखि पार्क प्रवेशमा शुल्क लिने व्यवस्था लागू गरेको हो ।
प्रवेश शुल्कको विवरण
विद्यार्थी : रु २०
सर्वसाधारण : रु ३०
सार्क राष्ट्र तथा विदेशी पर्यटक : रु १००
व्यक्तिगत क्यामेरा : रु १००
विवाह फोटो सुट : रु ५००
व्यावसायिक फोटो : रु १,५००
दोहोरी गीत म्युजिक भिडियो सुटिङ : रु ५,०००
सांस्कृतिक पोशाकसहित प्रवेश : रु १००
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । महानगरपालिकाले रत्नपार्कबाट वार्षिक ५० लाखदेखि एक करोड रुपैयाँसम्म आम्दानी गर्दै आएको छ ।
शंखधर उद्यान तथा रानीपोखरी एकाइका प्रमुख उत्तमकुमार घलेका अनुसार चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म चार महिनामा मात्रै ६१ हजार ५३७ जनाले रत्नपार्क अवलोकन गरेका छन् । तीमध्ये १२ हजार ८५० जना विद्यार्थी र ४८ हजार ६८७ जना सर्वसाधारण रहेका छन् । सो अवधिमा पार्कबाट १८ लाख १४ हजार ४१० रुपैयाँ राजस्व संकलन भएको छ ।
दैनिक आगन्तुक र सुविधाहरू
रत्नपार्कमा दैनिक ५०० देखि एक हजारसम्म व्यक्तिहरू आउने गरेका छन् भने शनिबार र सार्वजनिक बिदाका दिन अझ बढी भीड हुने गरेको छ । पार्कभित्र बस्नका लागि सेट बक्स, कुर्सी, सार्वजनिक शौचालय, शंखधर र पद्मरत्न तुलाधरका सालिक, युनिगार्डेनलगायत संरचना रहेका छन् ।
पानीको अभाव समस्या
पार्कभित्र हाल पानीको अभावका कारण बोटबिरुवा संरक्षणमा समस्या देखिएको प्रमुख घलेले बताए । पानी ट्यांकरमार्फत फूल तथा बोटबिरुवामा सिञ्चाइ गर्नुपर्ने अवस्था रहेको छ । समस्या समाधानका लागि चाँडै नै पानीको फोहोरा सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।





