
भक्तपुर । मार्ग शुक्ल पूर्णिमाका दिन नेवार समुदायले परम्परागत ठूलो चाडका रूपमा ‘यमरी पुन्ही’ मनाएका छन् । यस अवसरमा बिहानैदेखि घरघरमा चामलको पिठोबाट बनाइने विशेष परिकार यमरी पकाउने चलन रहिआएको छ ।
यमरी पुन्हीका दिन साँझ युवायुवतीहरूले “त्यःछिं त्यः, बकछिं त्यः…” भन्ने नेपाल भाषाको परम्परागत गीत गाउँदै घरघरमा यमरी, धान, चामल तथा दान माग्ने चलन मल्लकालदेखि चल्दै आएको मानिन्छ । तिहारको देउसी–भैलोजस्तै रमाइलो गर्ने यो सांस्कृतिक प्रचलन पछिल्ला पुस्ताले कम अनुसरण गर्न थालेकाले लोपोन्मुख बन्दै गएको संस्कृतिकर्मी सुमन श्रेष्ठ बताउँछन् ।
उनका अनुसार उक्त गीतमा धनीले धन, किसानले धान, घरमा यमरी हुनेले यमरी र केही नहुनेले संस्कृति बचाउने मन दिनुपर्ने सन्देश रहेको छ । यमरी माग्ने यस लोकपरम्परामा एकतर्फी प्रेमको भावसमेत झल्किने उनी बताउँछन् ।
यमरी पुन्हीलाई समयसूचक चाड र दानपर्वका रूपमा पनि लिने गरिन्छ । आजकै दिनदेखि दिन लामो र रात छोटो हुन थाल्ने भएकाले यसलाई समय परिवर्तनको संकेतका रूपमा मनाइन्छ । धान्य पूर्णिमाको अवसरमा दान गर्नाले पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ ।
संस्कृतिकर्मी श्रीकुमार जोशीका अनुसार मल्लकालदेखि नै यमरी पुन्हीका दिन कुनै पनि वस्तु दान गरे पुण्य प्राप्त हुने विश्वास चलिआएको छ । धान्य पूर्णिमाका अवसरमा आज बिहानैदेखि विभिन्न शिवालयहरूमा दर्शन गर्ने भक्तजनको भीड लागेको छ । भक्तजनहरूले शिवालयमा यमरी चढाएर पूजा गर्ने गरेका छन् ।
परम्पराअनुसार गृहिणीहरू शुद्ध भई चामलको पिठो मुछेर माथिल्लो भाग गजुरजस्तो चुच्चो बनाइ तलको भागभित्र चाकु, तिल, मास, गुँदपाक र खुवाजस्ता सामग्री राखी त्रिकोण आकारमा बनाउने र बाफमा पकाउने गर्छन् । यमरीलाई धानको भकारी तथा अन्न भण्डारमा चढाउँदा धनधान्य वृद्धि हुने विश्वास छ ।
यमरीलाई कुबेर र गणेशका प्रतीकका रूपमा पनि लिइन्छ । यमरी खानाले जाडो सहन सक्ने शक्ति बढ्ने र कफ नष्ट हुने जनविश्वास रहिआएको छ । परम्पराअनुसार यमरी पकाएपछि चार, छ र बाह्र दिनसम्म धानको भकारीमा पूजा गर्ने र त्यसपछि छोरीचेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने चलन छ ।
यमरीको किम्वदन्ती
किम्वदन्ती अनुसार पाञ्चाल देश (हालको पनौती) मा सुचन्द्र नामका दानी र धर्मात्मा महर्जन बस्थे । उनी र उनकी पत्नी भगवान् विष्णुका परमभक्त थिए । एकदिन उनीहरूको दयालु स्वभावको परीक्षा लिन धनका देवता कुबेर गरिब ब्राह्मणको भेषमा भिक्षा माग्दै सुचन्द्रको घर पुगे । सुचन्द्रकी पत्नीले श्रद्धापूर्वक उनलाई यमरी खुवाइन् ।
उनीहरूको सत्कारबाट प्रसन्न भई कुबेरले आफ्नो वास्तविक रूप प्रकट गरी यमरीको महिमा र धानको भकारीमा गणेश, कुबेर र लक्ष्मीको पूजा गरी यमरी चढाउने विधि बताए । सोहीअनुसार पूजा गरेपछि उनीहरूको धनसम्पत्ति वृद्धि भई स्वास्थ्यसमेत सुदृढ भएको कथन पाइन्छ ।
त्यही समयदेखि नेवार समुदायमा यमरी पुन्ही मनाउने परम्परा सुरु भएको जनविश्वास छ । धनधान्य वृद्धि हुने विश्वासका साथ यमरी पूर्णिमाका दिन नेवार समुदायले क्षमताअनुसार पैसा, धान, चामल र यमरी दान गर्ने प्रचलन कायम राख्दै आएका छन् ।





