
काठमाडौं । सीतापाइला तेक्वान्दो डोजाङकी चाँदनी खातुनले १३औँ कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छन्। सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा बिहीबार सम्पन्न क्याडेट महिलातर्फ ४० केजीमुनिको तौल समूहमा उनले पहिलो स्थान हासिल गरेकी हुन्। फोनिक्स डोजाङकी सुभानी माझी दोस्रो भइन् भने मधेस प्रदेशकी सन्तोषी कुमारी र दीलिप स्मृति डोजाङकी श्रीयुक्ता लामाले तेस्रो स्थान हात पारे।

क्याडेट महिलाको २९ केजीमुनि सानोठिमी डोजाङकी हृदयनी बस्नेतले स्वर्ण पदक जितिन्। उनले आकृति कुमारी सिंहलाई पराजित गरिन्। जैशीदेवल डोजाङकी ब्रिटिसा तामाङ र ऋत डोजाङकी दक्षता रावलले कांस्य पदक प्राप्त गरे।
त्यस्तै क्याडेट महिलाको ३३ केजीमुनि द नेक्स्ट लेभल डोजाङकी प्रतिभा खड्का पहिलो, मध्यपुर डोजाङकी मोनालिसा धामी दोस्रो, दीलिप स्मृति डोजाङकी रनिसा गौतम र बालाजु डोजाङकी जमुना भण्डारी तेस्रो स्थानमा रहे।
सिनियर महिलाको ६२ केजीमुनि त्रिभुवन आर्मी क्लबकी सुस्मिता मोक्तानले स्वर्ण जितिन्। उनले फाइनलमा एपीएफकी रेणु लामालाई पराजित गरिन्। भुटानकी सोनम याङ्जोम र राष्ट्रिय टिमकी दिलिका तामाङ तेस्रो भइन्। यस्तै ६७ केजीमुनि एपीएफकी रेजिना पार्कीले स्वर्ण जित्दा नेपाल पुलिसकी अनामिका तामाङ रजतमा सीमित भइन्। बिन्दु कार्की र अनुषा कुमारी चौधरीले कांस्य पदक जिते।
जुनियर पुरुष ५१ केजीमा घोराहीका सुभमजंग कँवर पहिलो, अनमोल घर्तीमगर दोस्रो तथा दीलिप स्मृतिका समिर पटेल र प्रशान्त सिंह तेस्रो भए। ६३ केजीमुनि खुदुनाबारी डोजाङका प्रदीप विश्वकर्मा स्वर्ण, कञ्चनपुरका विशेष सिंह रजत तथा फेयरल्यान्डका विक्रम श्रेष्ठ र स्वयम्भू डोजाङका प्रवेश श्रेष्ठ कांस्य पदक विजेता बने। ६८ केजीमुनि ऋत डोजाङका रोशन बम पहिलो भए। उनले फाइनलमा खुदुनाबारीका सञ्जल श्रेष्ठलाई पराजित गरे। कञ्चनपुरका आयुष चन्द र मातातीर्थ डोजाङका अविन शाक्य तेस्रो स्थानमा रहे।
जुनियर महिलाको ६३ केजीमुनि सानोठिमीकी सोया चक्रधर पहिलो, जैशीदेवलकी मोविक्षा गजुरेल दोस्रो तथा स्वस्तिककी एरिका माझी र मैजु कुमारी डोजाङकी गरिमा गुरुङ तेस्रो भए। ५२ केजीमुनि विजेश्वरीकी सामना विष्टले स्वर्ण जित्दा सन्ध्या चेपाङले रजत तथा फुरु लामा र निरजला महतोले कांस्य पदक प्राप्त गरे।
नेपाल तेक्वान्दो संघको आयोजना तथा नेपालस्थित दक्षिण कोरियाली दूतावासको विशेष सहयोगमा सञ्चालन भइरहेको प्रतियोगिता मंसिर २० गतेसम्म चल्नेछ। च्याम्पियनसिपमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र भुटानका खेलाडीको सहभागिता रहेको छ। ग्योरोगी, पुम्से र पारा तेक्वान्दो विधामा गरी जम्मा १ हजार ५३० खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक भानबहादुर चन्दले जानकारी दिए।





