१३औँ कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितानेपाल पुलिस क्लबका सुमित विष्टले जिते स्वर्ण



काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबका सुमित विष्टले १३औँ कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा बुधबार सम्पन्न पुरुष ५८ केजीमुनिको तौल समूहको फाइनलमा उनले त्रिभुवन आर्मी क्लबका विकास राईलाई पराजित गर्दै स्वर्ण हात पारेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरेको ‘मिसन २०२६’ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका सुमितको यो उपलब्धिलाई महत्वपूर्ण मानिएको छ । सो तौल समूहमा नेपाल एपीएफ क्लबका रुपेश तामाङ र एबसोल्युट तेक्वान्दो डोजाङका सुजन गुरुङले कास्य पदक जिते ।

यसैगरी, सिनियर महिलातर्फ ४६ केजीमुनिको तौल समूहमा एपीएफकी अन्जली कुमारी साउदले स्वर्ण पदक हात पारिन् । उनले फाइनल खेलमा आर्मीकी सन्तोषी राईलाई पराजित गरिन् । पुलिसकी प्रकृति पाली र बरहथवा डोजाङकी जस्मिन गुरुङले कास्य पदक प्राप्त गरे ।

जुनियर पुरुषतर्फ ४८ केजीमुनिको तौल समूहमा ईतराम डोजाङका निशान प्याकुरेलले स्वर्ण, कञ्चनपुरका समिर कुंवरले रजत तथा राजदेवी डोजाङका प्रमिश राई र कञ्चनपुरकै भुपेन्द्र ठाकुरले कास्य पदक जिते ।

जुनियर महिलातर्फ ४९ केजीमुनिको तौल समूहमा सुनसरीस्थित राजदेवी डोजाङकी रिसिका भुजेलले स्वर्ण, लाइन्स मार्सल आर्ट्सकी सोनिया तामाङले रजत तथा फेयरलेस डोजाङकी खुशी तामाङ र हिमशिखर स्कुलकी सुहाना श्रेष्ठले कास्य पदक हात पारे ।

यस्तै छात्रतर्फ २९ केजीमुनिको तौल समूहमा सोस्तिक डोजाङका प्रसिद्ध तामाङले स्वर्ण, श्रीसिद्धार्थ डोजाङका रोचक पुडासैनीले रजत तथा बरहथवाका प्रशान यादव र श्रीसिद्धार्थकै आरुष थापाले कास्य पदक जितेका छन् ।

मंसिर २० गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश र भुटानका खेलाडी सहभागी छन् । प्रतियोगितामा ग्योरोगी, पुम्से तथा पारा तेक्वान्दो गरी तीनवटै विधा समावेश गरिएको छ । तीनवटै विधामा गरी कुल १ हजार ५ सय ३० खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक भानबहादुर चन्दले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्