
काठमाडौं । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा जारी १३औं कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सन्दीपनि ज्ञान मन्दिर डोजाङका मधुसुदन सापकोटाले स्वर्ण पदक हात पारेका छन्। उनले मंगलबार सम्पन्न ४० वर्षमाथिको उमेर समूहअन्तर्गत व्यक्तिगत पुम्से इभेन्टमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान सुनिश्चित गरे।


उक्त समूहमा स्वस्तिक तेक्वान्दो डोजाङका प्रेमकुमार दर्नालले रजत तथा महालक्ष्मी तेक्वान्दो डोजाङका रामकुमार श्रेष्ठ र रमन थापाले कांस्य पदकमा सीमित भए।
महिला ४० वर्षमाथिको एकल पुम्सेमा मकवानपुरकी निरुकुमारी मगरले स्वर्ण जितिन्। ललितपुरकी पुनम श्रेष्ठले रजत र कमला गिरी शाहले कांस्य पदक हात पारे।
३० वर्षमुनिको पेयर पुम्सेमा त्रिभुवन आर्मी क्लबका स्वस्तिका तामाङ र युवराज राणा स्वर्ण पदक विजेता बने। नेपाल पुलिस क्लबका निशा दर्नाल र असिम राउतले रजत तथा एपीएफका साकार महतरा–सञ्जना घर्तीमगर र आर्मीका लक्ष्मी सुनाखरी–रवीन्द्र थारुले कांस्य पदक जिते।
पुरुष ३० वर्षमुनिको एकल पुम्सेमा आर्मीका युवराज राणा प्रथम भए। पुलिसका अस्मिन राउत दोस्रो तथा राष्ट्रिय टोलीका निर्मल पुन मगर र आर्मीका अस्मिन राईले तेस्रो स्थान प्राप्त गरे।
१४ वर्षमुनिको महिलाको एकल पुम्सेमा गोदावरी फिटनेसकी युमी पाख्रिनले स्वर्ण जितिन्। जैसीदेवल डोजाङकी सुभेक्षा गजुरेलले रजत तथा स्वस्तिककी रेजिना तामाङ र बालाजु डोजाङकी सन्ध्या प्रधानले कांस्य पदक हासिल गरे।
१२ वर्षमुनिको पेयर पुम्सेमा स्वस्तिक डोजाङकै सुमन तामाङ–युनिसा राना मगरले स्वर्ण जिते। अर्लिना चौधरी–पउलसन दर्नालले रजत तथा लक्ष्मी न्यौपाने–उर्गेन तामाङ र श्री सिद्धार्थ डोजाङका ओसन गुरुङ–निमिसा भुजेलले कांस्य पदक हात पारे।
मंसिर २० गतेसम्म जारी रहने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र भुटानका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। च्याम्पियनसिपमा ग्योरोगी, पुम्से र पारा तेक्वान्दो गरी तीनै विधामा १,५३० खेलाडीले सहभागिता जनाइरहेका छन्।





