१३औँ कोरियन एम्बासडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु, ५ देशका १,५५० खेलाडीको सहभागिता



काठमाडौं । नेपाल तेक्वान्दो संघ र नेपालस्थित दक्षिण कोरियाली दूतावासको संयुक्त आयोजनामा १३औँ कोरियन एम्बासडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा भव्य रूपमा सुरु भएको छ। उद्घाटन समारोहमा संघका अध्यक्ष दीपराज गुरुङले अध्यक्षता गरेका थिए भने पूर्व युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
दक्षिण कोरियाका राजदूत पार्क ताइ योंग विशिष्ट अतिथिका रूपमा सहभागि रहे। मन्त्री श्रेष्ठ र राजदूत योंगले संयुक्त रूपमा दीप प्रज्वलन गरी प्रतियोगिताको औपचारिक शुभारम्भ गरेका हुन्।

यो संस्करणको प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र भुटानका गरी १,५५० खेलाडी सहभागी छन्। कुल ६१ स्वर्ण, ६१ रजत र १२२ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगिता मंसिर २० (डिसेम्बर ६) सम्म चल्नेछ।


पहिलो दिनकै खेलमा नेपालका खेलाडीको उत्कृष्ट प्रदर्शन

विभागीय टोली नेपाल पुलिस क्लबका प्रेमबहादुर लिम्बूले व्यक्तिगत पुम्से (पुरुष ४० वर्षमुनि) मा स्वर्ण पदक जित्दै नेपालको सफल सुरुवात गराए। १३औँ दक्षिण एसियाली खेलकुद (साग) का कास्य पदक विजेता लिम्बूपछि, त्रिभुवन आर्मी क्लबका रेजिन रिमालले रजत तथा दाङको अल्फा तेक्वान्दो डोजाङका दामोदर शर्माले कास्य प्राप्त गरे।

महिला ४० वर्षमुनिको एकल पुम्सेमा एपीएफकी प्रतिभा भिस्टाले स्वर्ण जितिन् भने आर्मीकी सविना भट्टराईले रजत प्राप्त गरिन्।

बालक १०–१२ वर्ष समूहमा सुनसरीका प्रकाश श्रेष्ठले स्वर्ण पदक जिते। बालाजु डोजाङका रावल पण्डित रजत र रोजकुमार तामाङ तथा सुमन तामाङले कास्य पदकमा समेटिए।


तेक्वान्दो सामग्री हस्तान्तरण तथा मानार्थ डान प्रदान

उद्घाटन समारोहका क्रममा दक्षिण कोरियाली दूतावासले नेपाल तेक्वान्दो संघलाई विभिन्न खेल सामग्री हस्तान्तरण गरेको थियो। राजदूत पार्क ताइ योंगले संघका अध्यक्ष दीपराज गुरुङलाई सामग्री प्रदान गरे।

सोही अवसरमा पूर्व युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई मानार्थ छैटौँ डान प्रदान गरिएको थियो। उपाध्यक्ष साम्राज्यविक्रम पाण्डे, बागमती प्रदेशका अध्यक्ष केशव पुरी र पर्यटन व्यवसायी सञ्जय बजिमयलाई मानार्थ पाँचौँ डान प्रदान गरिएको थियो।


१,५३० खेलाडी प्रतिस्पर्धामा; पारा तेक्वान्दोसहित तीन विधा

च्याम्पियनसिपमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र भुटानका खेलाडीहरू प्रतिस्पर्धामा छन्। ४० जना अन्तर्राष्ट्रिय रेफ्रीले खेल सञ्चालन गर्दैछन्। प्रतियोगितामा ग्योरोगी, पुम्से र पारा तेक्वान्दो गरी तीनै विधा समावेश गरिएको छ।

प्रतियोगिता मंसिर २० सम्म निरन्तर सञ्चालन हुनेछ र विजेतालाई पदक तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्