
बिराटनगर, मंसिर १५— पशु क्वारेन्टाइन कार्यालय बिराटनगरले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै सो अवधि भीतर निर्धारित कार्यमध्ये ८३.३७ प्रतिशत काम सम्पन्न गरिएको जनाएको छ। कार्यालय प्रमुख डा. विदुरप्रसाद गौतमका अनुसार वित्तीय प्रगति भने ४७.५५ प्रतिशत रहेको छ।
उनका अनुसार भारत–नेपाल सीमामा अवैध पशु तथा पशुजन्य सामग्री प्रवेश रोकथाममा कार्यालयले प्रभावकारी गतिविधि सञ्चालन गरेको छ। विराटनगरको रानी, सुनसरीस्थित भान्टाबारी र सिरहास्थित माडर नाकामा आयात–निर्यात सामग्रीलाई कडाइका साथ जाँच तथा नियमित निगरानी गरिएको प्रतिवेदनमा उल्लेख छ।
अवैध रूपमा भित्रिने जोखिमयुक्त पशुजन्य सामग्री नियन्त्रण, स्वास्थ्य परीक्षण तथा क्वारेन्टाइन प्रमाणपत्र वितरणलाई कार्यालयले उच्च प्राथमिकतामा राखेको छ। यसका लागि आयात–निर्यात व्यवसायीसँग नियमित समन्वय गरिएको बताइएको छ।
प्रतिवेदनअनुसार पहिलो त्रैमासिकमा मात्रै ३२ पटक अनुगमन गरी ठूलो परिमाणका अवैध सामग्री नियन्त्रणमा लिइएर नष्ट गरिएको छ। नष्ट गरिएका सामग्रीमा २४० केजी ब्रोलर कुखुरा, ३२९ वटा बोइलर कुखुरा, २९ क्रेट सेतो अण्डा, १०४ केजी पहिचान नखुलेको आलो मासु, ३० केजी प्याकेज्ड सि–फिस, १० पिस एक्वेरियम माछा, ७३५ केजी फ्रोजन फिस र २० केजी माछाको सिद्रा छन्।
भारत–नेपाल सीमाबाट भित्रिने पशुचौपायाको स्वास्थ्य परीक्षण, संक्रमण जोखिम रोकथाम तथा सवारीसाधन स्यानिटाइजेसन नियमित रूपमा भइरहेको कार्यालयले जनाएको छ। साथै आयातित कच्चा पदार्थको गुणस्तर परीक्षणका लागि नमुना संकलन गरी प्रयोगशालामा परीक्षणसमेत गरिएको उल्लेख छ।
सीमा क्षेत्रमा अवैध सामग्री नियन्त्रणलाई कडाइका साथ अघि बढाउन स्थानीय प्रशासन तथा सुरक्षासम्बन्धी निकायसँग निरन्तर समन्वय भइरहेको कार्यालयको निष्कर्ष छ।





