
तनहुँ । तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यस वर्ष करिब रु दुई करोडभन्दा बढी मूल्य बराबरको सुन्तला बिक्री गरेका छन्।
सदरमुकाम दमौलीबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटमा अहिले किसानहरू सुन्तला टिप्न, छान्न र बिक्रीका लागि तयार पार्न निकै व्यस्त छन्। बारीभरि पक्दै गएका सुन्तलाले गाउँभर व्यवसायिक चहलपहल बढाएको छ।
किसान फलबहादुर थापाले यस वर्ष मात्र रु १६ लाख ५० हजारको सुन्तला बिक्री गरेको बताए। सिद्धबेनी माध्यमिक विद्यालयका पूर्वशिक्षक थापा सुन्तला खेतीले स्थिर र राम्रो आम्दानी दिएको बताउँदै गाउँका किसानले समग्रमा करिब रु दुई करोड बराबरको सुन्तला बिक्री गरेको जानकारी दिन्छन्।
किसान कालबहादुर रानाले यस वर्ष रु चार लाखको सुन्तला बिक्री गरेको उल्लेख गरे। उत्पादन बिक्रीमा कुनै समस्या नरहेको उनले बताए। “ठेकेदारहरू स्वयम् गाउँसम्म आइपुग्छन्, बगानमै मूल्य किटान गर्छन् र बोट टिप्ने, ढुवानीदेखि बिक्रीसम्म सबै काम उनीहरूकै जिम्मामा हुन्छ,” रानाले भने।
स्थानीय मनसिंह थापाका अनुसार अन्य खेतीभन्दा सुन्तला खेती सजिलो र लाभदायक भएकाले किसानको आकर्षण बढ्दो छ। उनले यस वर्ष रु दुई लाख १० हजार बराबरको सुन्तला बिक्री गरेका छन्। “प्रत्येक वर्ष मङ्सिरभर गाउँमा सुन्तला बेच्ने चटारो हुन्छ,” उनले भने।
यद्यपि भिरालो सडक र स्तरोन्नति नहुँदा ढुवानीमा समस्या सिर्जना भएको किसानहरूको गुनासो छ। व्यवसायी लेखबहादुर थापाका अनुसार दैनिक पाँचवटासम्म गाडीले बजारसम्म सुन्तला पुर्याइए पनि जोखिमपूर्ण बाटोले असहजता बढाएको छ।
बेनीकोटका किसानले २० देखि ८०० बोटसम्म सुन्तलाको खेती गर्छन्। यहाँ उत्पादन हुने सुन्तला काठमाडौँ, चितवन, पोखरा लगायतका शहरमा बिक्री हुने गरेको छ। मङ्सिर महिना धान भित्र्याउने समय भए पनि बेनीकोटका किसानका लागि मुख्य आयस्रोत भनेको सुन्तला भएकाले उनीहरू अहिले यसको टिपाइ र बिक्रीमा व्यस्त छन्।





