
पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चार महिनामा विभिन्न वस्तु आयातबाट उल्लेखनीय राजस्व संकलन गरेको छ। कार्यालयले पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट मात्रै रु २२ अर्ब ९० करोड राजस्व उठाएको जनाएको छ।
यस्तै, यातायातका साधन तथा तिनका पार्टपुर्जाबाट रु १० अर्ब १० करोड राजस्व संकलन गरिएको छ। सो अवधीमा फलाम तथा फलामजन्य सामग्रीबाट रु ४ अर्ब ५८ करोड, कपडाबाट रु ४ अर्ब २५ करोड, र मेसिनरी तथा पार्टपुर्जाबाट रु ३ अर्ब १७ करोड राजस्व प्राप्त भएको कार्यालयले जनाएको छ।
इलेक्ट्रिक मेसिनरी, उपकरण तथा तिनका पार्टपुर्जाको आयातबाट पनि रु ३ अर्ब ७ करोड राजस्व उठाइएको छ। भन्सार कार्यालयका अनुसार चालु आवको पहिलो चार महिनामा वीरगञ्ज भन्सारमार्फत रु २ खर्ब ८४ अर्ब ८९ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन्।
उक्त अवधिमा कार्यालयले जम्मा रु ७५ अर्ब ५९ करोड राजस्व संकलन गरेको तथ्यांक सार्वजनिक गरेको छ।





