अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज विभिन्न कार्यक्रमसँगै मनाइँदै



काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र समावेशितालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित आज (बुधबार) ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस देशभर विभिन्न कार्यक्रममार्फत मनाइँदैछ । सरकार, सरोकारवाला निकाय तथा अपाङ्गता क्षेत्रका सक्रिय संघ–संस्थाहरूले दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरेका छन्।

संयुक्त राष्ट्रसङ्घको पहलमा सन् १९९२देखि प्रत्येक वर्ष डिसेम्बर ३ मा विश्वभर अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै आएको छ। यस वर्षको दिवस नारा ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धन: सामाजिक उन्नतिको संवर्द्धन’ तय गरिएको छ, जसले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समानता, सम्मान र समावेशनप्रति विश्वभर साझा प्रतिवद्धता पुनः स्मरण गराउँछ।

अपाङ्गता भएका नागरिकका लागि कार्यालय, विद्यालय, सार्वजनिक यातायात, सडक, पार्क, धार्मिक स्थल तथा निजी–सार्वजनिक संरचनामा मैत्रीपूर्ण भौतिक पूर्वाधार निर्माण गर्दै आवश्यक सुविधा उपलब्ध गराउनु अपरिहार्य मानिएको छ।

नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिलाई विविधताको सम्मानसहित मर्यादित जीवन, आत्मसम्मान र सार्वजनिक सेवा–सुविधामा समान पहुँचको हक सुनिश्चित गरे पनि व्यवहारिक कार्यान्वयन अझै सुदृढ हुनुपर्ने माग सम्बन्धित क्षेत्रबाट उठ्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्