
काठमाडौँ, मङ्सिर १४ गते । नेपालले आइइएसएफ विश्व ईस्पोर्ट्स च्याम्पियनसिप २०२५ अन्तर्गत मोबाइल लेजेन्ड्सः ब्याङ ब्याङ (एमएलबीबी) खेलमा सहभागी हुने भएको छ। मलेसियाको क्वालालम्पुरमा डिसेम्बर ३ देखि ७ तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपाल पुरुष तथा महिला दुवै विधामा प्रतिस्पर्धा गर्नेछ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार मलेसिया प्रस्थान गर्दै गरेका नेपाली इस्पोर्ट्स टोलीलाई विदाइ गर्दै शुभकामना तथा प्रोत्साहन प्रदान गरे। अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रको प्रतिष्ठा वृद्धि गर्ने विश्वास व्यक्त गर्दै, विश्वभर तीव्र गतिमा लोकप्रिय बन्दै गएको इस्पोर्ट्स क्षेत्रमा प्रतिभाशाली खेलाडीलाई एनओसीले निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएको बताए।

एमएलबीबी पुरुष टिममा विकास तामाङ, किशोर गुरुङ, आयुष भण्डारी, आयुष राई र अभिषेक वाइबा रहेका छन्। टोलीका प्रशिक्षक म्याथ्यू ह्वी योङ तान हुन्।
महिला टिममा रुशु तामाङ, प्रकृति तामाङ, स्नेहा राई, एक्सा माबो र दुर्सन राई रहनेछन् भने प्रशिक्षकका रूपमा सुमित श्रेष्ठ सहभागी हुनेछन्।
यससँगै नेपाल इस्पोर्ट्स संघका अध्यक्ष सुरज डङ्गोल पनि प्रतियोगिताका लागि मलेसिया प्रस्थान गर्नेछन्।





