
सिराहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाईको जिरोमाइलदेखि करिब १० किलोमिटर उत्तरमा पर्ने भालटार डाँडा हाल आन्तरिक पर्यटनका लागि उदाउँदो गन्तव्यका रूपमा स्थापित हुँदैछ । प्राकृतिक सौन्दर्य, स्वच्छ र शान्त वातावरण, फोटोका लागि आकर्षक स्पट तथा नयाँ संरचनाको विकासले गर्दा यहाँ दैनिक रूपमा पर्यटकको भीड बढ्न थालेको हो।
धनगढीमाई–१३ मा अवस्थित यो डाँडा सेल्फीडाँडा नामले पनि परिचित छ। करिब छ महिना अगाडि सडक पिच भएसँगै सहज पहुँच उपलब्ध भएपछि भालटार क्षेत्रको पर्यटन गतिविधि तीव्ररूपमा बढेको स्थानीयवासी बताउँछन्। सडक विस्तारले स्थानीय कृषिजन्य उत्पादनलाई बजारसम्म पु-याउन पनि ठूलो सुविधा पुगेको छ।
भालटारतर्फको सडक अहिले वडा नं १४ को सर्रे–अम्बाससम्म विस्तार भइसकेको छ, जसले पहाडी बस्ती र बजारबीचको जोड अझ बलियो बनाएको छ। हरियाली, चुरे वरपरका पहाडी बस्ती, चिसो हावा र शान्त वातावरणले यहाँ पुग्ने जो–कसैलाई मोहित बनाउँछ। पिकनिक, रमाइलो, हाइकिङ र विश्रामका लागि आउनेको संख्या पछिल्ला महिनामा उल्लेखनीय रूपमा बढेको छ। पर्यटक बढेसँगै होटल–रेस्टुराँको संख्या पनि विस्तार हुन थालेको छ।
भालटारस्थित भ्यू होटलका सञ्चालक रोशन राईका अनुसार, “आठ वर्षदेखि होटल चलाउँदै आएका छौँ, तर पहिले पर्यटक प्रायः आउँदैनथे। अहिले पूर्वाधार विकाससँगै आगमन दोब्बर बढेको छ। भारतबाट पनि पाहुना आउने गर्छन्।” उनका अनुसार धेरैजसो पर्यटकले पहिले नै फोन गरेर अर्डर गर्छन्, कोही भने हिँड्दै नै आइपुग्छन्। खासगरी स्थानीय कुखुराको स्वाद चाख्न आउनेको संख्या उल्लेखनीय छ।
धनगढीमाई नगरपालिका र स्थानीय समुदायले भालटार डाँडालाई व्यवस्थित पर्यटन क्षेत्रका रूपमा विकास गर्न अभियान अघि बढाएका छन्। वडा नं १३ का अध्यक्ष सूर्यमान तामाङका अनुसार, भ्यू–प्वाइन्ट पहिचान, प्रचार–प्रसार, सफाइ अभियान र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै क्षेत्रलाई व्यवस्थित पर्यटन गन्तव्य बनाउने लक्ष्यका साथ काम भइरहेको छ। धनगढीमाई चोकमा समेत पर्यटन सम्भावनालाई केन्द्रमा राख्दै व्यवसाय र यातायात सेवा विस्तार भइरहेको छ।
स्थानीय युवा वीरेन्द्र चौधरीका अनुसार, भालटार डाँडा मधेसमै ‘मिनी–हिलस्टेशन’ बन्न सक्ने दुर्लभ सम्भावना बोकेको क्षेत्र हो। रमणीय पहाडी दृश्य भेटिने थोरै स्थानमध्ये पर्नाले यसको प्रभावकारी प्रवद्र्धनले स्थानीय रोजगारी र आर्थिक क्रियाकलापमा उल्लेखनीय वृद्धि गर्ने विश्वास उनले व्यक्त गरे।





