
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा नेपाल आज उपाधि जित्ने लक्ष्यसहित आयोजक यूएईसँग फाइनल खेल्दैछ ।
उपाधि भिडन्त आज बिहान १०ः३० बजे अजमानको करवान मैदानमा हुने निर्धारित छ। मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो। यता, यूएईले ओमानलाई ८ विकेटले हराउँदै उपाधि प्रतिस्पर्धामा स्थान सुरक्षित गरेको थियो।
नेपाल र यूएई दुवै टोली यसअघि नै यू–१९ एसिया कपका लागि छनोट भइसकेका छन्। प्रतियोगिताको नियमअनुसार फाइनलमा पुग्ने दुई टोली सिधैँ एसिया कपमा प्रवेश पाउने व्यवस्था छ।
तेस्रो स्थानका लागि आज नै मलेसिया र ओमान आमनेसामने हुनेछन्। तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा छनोट हुने नियम छ।
यो संस्करणमा कुल १४ टोलीले सहभागिता जनाएका थिए। यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै आयोजना हुने छ।





