
मस्को । अमेरिकी–रुसी तीन सदस्यीय अन्तरिक्ष टोली बिहीबार रुसी अन्तरिक्षयानमार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) तर्फ प्रस्थान गर्दै आठ महिनाको संयुक्त वैज्ञानिक अभियानमा अघि बढेको छ।
काजाकिस्तानको बाइकोनुरबाट बिहान २ः२७ बजे प्रक्षेपण गरिएको सोयुज यानमा अमेरिकी अन्तरिक्ष यात्री क्रिस विलियम्स तथा रुसी सहकर्मी सर्जेई मिकाएभ र सर्जेई कुद–स्भेर्चकोभ सवार थिए। प्रक्षेपणपछि करिब तीन घण्टा सात मिनेटको यात्रा सम्पन्न गर्दै यान बिहान ५ः३४ बजे आईएसएससँग सफलतापूर्वक आवद्ध भयो।
उक्त टोली करिब आठ महिना कक्षीय स्टेशनमै बस्नेछ। विलियम्स र मिकाएभका लागि यो पहिलो अन्तरिक्ष यात्रा हो भने कुद–स्भेर्चकोभ यसअघि एकपटक अन्तरिक्षमा भइसकेका छन्।
आईएसएसमा अहिले अमेरिकी अन्तरिक्ष यात्री माइक फिन्क, जेना कार्डम्यान, जोनी किम, जापानी अन्तरिक्ष यात्री किमिया युइ तथा रुसी अन्तरिक्ष यात्री सर्जेई रिजिकोभ, अलेक्सी जुब्रित्स्की र ओलेग प्लेटोनभ कार्यरत छन्।
अभियानका क्रममा विलियम्सले वैज्ञानिक अनुसन्धान तथा उन्नत प्रविधि परीक्षणमा संलग्न हुनेछन्, जसले मानव अन्तरिक्ष अन्वेषणको भविष्यलाई अझ सुदृढ बनाउने तथा पृथ्वीमा उपयोगी टेक्नोलोजी विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
यता, रुसी अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा तीनै सदस्य स्वस्थ रहेको जनाइएको छ। तर, प्रक्षेपणपछि बाइकोनुरमा गरिएको नियमित परीक्षणमा प्रक्षेपण स्थलका केही भागमा क्षति देखिएको र त्यसको मूल्याङ्कन तथा मर्मतकार्य छिट्टै सुरु हुने एजेन्सीले जनाएको छ।





