
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक स्तरोन्नति परियोजनामा लामो समयदेखि रोकिएको साँगा–धुलिखेल सडक विस्तारीकरण कार्य पुनः सुरु हुने भएको छ। बनेपाको पुल बजार क्षेत्रमा करिब डेढ वर्षदेखिको अवरोध हटाएर काम अघि बढाउने सहमति आइतबार सम्पन्न बैठकले गरेको हो।
बनेपा नगरपालिकामा आयोजित बैठकमा पीडित पक्ष, निर्माण कम्पनी, नगर प्रमुख–उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत सरोकारवालाबीच अवरुद्ध कार्यलाई निरन्तरता दिने निर्णय भएको बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले जानकारी दिए।
उनका अनुसार सूर्यविनायक–धुलिखेल सडकखण्डको ‘डिजिटल’ नापी नक्सा लागू भएकाले सोही नक्सालाई आधार मानी सीमाक्षेत्र निर्धारण गरेर रेखाङ्कन कार्य सम्पन्न गर्दै बन्द काम पुनः सुरु गर्ने निर्णय भएको छ। बैठकले सडकको ‘डिजाइन स्ट्यान्डर्ड’ अनुसार नै निर्माण अघि बढाउने सहमति जनाएको छ।
बैठकमा सडक आयोजनाका प्रमुख विजयकुमार महतो, बनेपा नगर नेतृत्व, विभिन्न वडाका अध्यक्ष, स्थानीय सरोकारवाला, काभ्रे उद्योग वाणिज्य सङ्घका प्रतिनिधि तथा निर्माण कम्पनीका प्रतिनिधि सहभागी थिए। स्थानीयले राजमार्गले ओगटेको क्षेत्रभर एकरूपता कायम गर्न, ढल व्यवस्थापन सुधार गर्न तथा काम द्रुत गतिमा अघि बढाउन माग गरेका थिए।
यसैबीच पहिलो खण्डअन्तर्गत साँगा–धुलिखेल सडक विस्तारको समयसीमा तीन हप्ता मात्र बाँकी रहेको छ। सम्झौताअनुसार दुई हप्ता म्याद रहँदा अहिलेसम्म ४० प्रतिशत काम अधुरो छ। सूर्यविनायकदेखि धुलिखेलसम्मको आठ किलोमिटर विस्तारका लागि विसं २०७९ मंसिर २७ गते रु ४ अर्ब ५ करोड ६४ लाखमा लामा कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो। करिब तीन वर्षको अवधिमा ६० प्रतिशत मात्र काम सम्पन्न भएको आयोजनाले जनाएको छ।
हाल धुलिखेलमा एक किलोमिटरजति सडक कालोपत्रे भइसकेको र पुल बजार–जनागाल क्षेत्रमा कालोपत्रे जारी रहेको छ। परियोजनाअनुसार सूर्यविनायक–धुलिखेल दुई खण्डमध्ये साँगा–धुलिखेलमा ६० प्रतिशत र सूर्यविनायक–साँगा खण्डमा ४२ प्रतिशत काम सम्पन्न भएको प्रमुख महतोले बताए। सूर्यविनायक–साँगा खण्डमा छवटा घर भत्काउने कार्य अझै जारी छ।
सात दशमलव पाँच किलोमिटर लम्बाइको सूर्यविनायक–साँगा खण्डका लागि रु ३ अर्ब ८८ करोड ९३ लाखमा ठेक्का सम्झौता भएको थियो। दोस्रो खण्डको म्याद पुस १८ गते समाप्त हुँदै छ। “दुवै खण्डमा म्याद थपेर आगामी असार मसान्तभित्र काम पूरा गर्ने विषयमा निर्माण व्यवसायीसँग छलफल भइरहेको छ,” आयोजन प्रमुख महतोले बताए।





