उत्तर प्रदेशमा नरभक्षी ब्वाँसोको आतंक, ड्रोन मार्फत निगरानी तेज



भारत, उत्तर प्रदेश । उत्तर प्रदेशका विभिन्न गाउँमा ब्वाँसोको आक्रमणले पछिल्ला हप्ताहरूमा कम्तीमा ९ जनाको ज्यान लिएका कारण स्थानीय बासिन्दाहरू त्रसित छन्। वन अधिकारीहरूले आइतबार जानकारी दिएअनुसार, सम्भावित ‘किलर वुल्फ’ ट्र्याक गर्न ड्रोन तैनाथ गरिएको छ। मृतकमध्ये अधिकांश बालबालिका रहेका कारण समुदायमा ठूलो चिन्ता व्याप्त भएको छ।

शनिबार बहराइच जिल्लामा १० महिनाकी एक बालिकालाई आमा छेउमै सुतिरहेको अवस्थामा ब्वाँसोले खोसेर खेतमा मृत फेला पारेको अधिकारीहरूले बताए। यसअघि, शुक्रबार पाँच वर्षे बालकलाई घर बाहिर आमासँग देख्दा ब्वाँसोले तानेर लगेको थियो। बालकको टाउको काटिएको अवस्थामा उखुको खेतमा भेटिएको थियो र अस्पताल पुर्‍याउने क्रममा मृत्यु भएको थियो।

वन अधिकारीहरूका अनुसार सेप्टेम्बरयता यस क्षेत्रका धेरै गाउँमा यस्तै ढाँचाका आक्रमणहरू दोहोरिँदै आएका छन्। प्रहरी, वन विभाग र मिडिया रिपोर्टहरू अनुसार, पछिल्ला तीन महिनामा बहराइचमा ब्वाँसोको आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भइसकेको छ, जसमा एक वृद्ध दम्पती पनि परेका छन्।

वन अधिकृत रामसिंह यादवले घटनाहरू बढेसँगै प्रभावित क्षेत्रमा ड्रोन, क्यामेरा ट्र्याप र प्रशिक्षित शुटरहरू तैनाथ गरिएको जानकारी दिए। उनले भने, “यसपटक ब्वाँसोको व्यवहार असामान्य देखिएको छ। हाल तिनीहरू दिउँसो सक्रिय हुँदै आएका छन्, जुन सामान्यतया हुँदैन।” अन्य अधिकारीहरूले पनि जनावरहरू असामान्य रूपमा साहसी र निडर भएको बताएका छन्।

गतवर्ष पनि बहराइचमा यस्तै आक्रमणको लहर देखिएको थियो जसमा ब्वाँसोको समूहले कम्तीमा ९ जनाको ज्यान लिएको थियो। बहराइच नेपाल सीमासँग जोडिएको घाँसे मैदान क्षेत्र हो, जहाँ हिमालयको फेदीसम्म बाक्लो जङ्गल फैलिएको छ।

विशेषज्ञहरूको अनुसार, ब्वाँसो सामान्यतया मानिस वा गाईवस्तुमा भोकमरीको अवस्थामा मात्र आक्रमण गर्छन् र साना मृग जस्ता कम जोखिमयुक्त शिकार तिनीहरूको प्राथमिकता हुन्छ। भारतभर करिब ३ हजार ब्वाँसोमध्ये धेरैजसो संरक्षित क्षेत्र बाहिर मानिसको बस्ती नजिक बसोबास गर्छन्।

‘प्लेन्स वुल्फ’ भनेर चिनिने यी जनावरहरू हिमालयन वुल्फभन्दा साना हुन्छन् र कहिलेकाहीँ स्यालसँग भ्रमित हुन सक्ने अधिकारीहरूको भनाइ छ।

स्थानीय बासिन्दाहरू अझै त्रसित छन्। एक बासिन्दाले भने, “हाम्रा छोराछोरी घरभित्र पनि सुरक्षित छैनन्। हाम्रो सबैभन्दा ठूलो चाहना यही हो कि यी आक्रमणहरू रोकियोस् र हामी सामान्य जीवन फर्काउन पाउँ।”

प्रतिक्रिया दिनुहोस्