चितवनमा बस्ती पसेको गैँडाको आन्तरिक स्थानान्तरण



चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बारम्बार बस्तीमा प्रवेश गरी स्थानीयवासीलाई समस्या पुर्‍याउने एक भाले गैँडालाई निकुञ्जले आन्तरिक रूपमा स्थानान्तरण गरेको छ। भरतपुर महानगरपालिका–२३ स्थित घैलाघारी क्षेत्रमा देखिएको उक्त गैँडालाई सुरक्षित रूपमा सारिएको हो।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार करिब २५ वर्ष उमेरको भाले गैँडालाई सौराहा सेक्टरअन्तर्गत कुमरोज सामुदायिक वन क्षेत्रमा स्थानान्तरण गरिएको हो। बस्तीमा प्रवेश गरी बालीनाली नोक्सान गर्ने र मानव–वन्यजन्तु द्वन्द्व बढ्ने सम्भावना देखिएकाले सुरक्षाका दृष्टिले गैँडालाई सार्नुपरेको उनले बताए।

उनका अनुसार गैँडालाई ‘डार्ट’ प्रयोग गरी नियन्त्रणमा लिएर स्थानान्तरण गरिएको हो। निकुञ्जले यसअघि पनि बस्तीमै त्रास फैलाउने गैँडाहरूलाई आन्तरिक रूपमा सार्दै आएको जानकारी अधिकारी मगरले दिए। विगतका वर्षमा निकुञ्जको पश्चिम क्षेत्रमा गैँडाको सङ्ख्या बढेकाले व्यवस्थापनका लागि आवश्यकतानुसार स्थानान्तरण गरिँदै आएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्