सौराहामा पुस ११ देखि १३ गतेसम्म हात्ती महोत्सव हुने



चितवन । पर्यटकीय नगरी सौराहामा हरेक वर्ष आयोजना हुँदै आएको हात्ती तथा पर्यटन महोत्सव यस वर्ष पुस ११ गतेदेखि १३ गतेसम्म हुने भएको छ। क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना र यूनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सहआयोजनामा महोत्सव तयार गरिएको हो।

वि.सं. २०५५ देखि सुरु भएको चितवन हात्ती तथा पर्यटन महोत्सवमा यस वर्ष हात्ती श्रृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्ती स्वास्थ्य शिविर, हात्तीको दैनिकीबारे जानकारीसहितका आकर्षक कार्यक्रम समेटिनेछन्।

महोत्सवका संयोजक गुणराज थपलियाका अनुसार पालिकास्तरीय डुङ्गादौड प्रतियोगिता, हात्ती–मैत्री प्रतिस्पर्धा, सफारी पर्यटन प्रवर्द्धनका लागि हात्ती, जिप तथा डुङ्गा सफारी गराइने कार्यक्रम पनि तय गरिएको छ। उनले महोत्सवमा ८० वटा हात्ती सहभागी हुने जानकारी दिए।

चितवनको पर्यटन सम्भावना र चुनौतीबारे अन्तक्रिया, विभिन्न प्रतिस्पर्धा, चित्रकला प्रतियोगिता, मानव–वन्यजन्तु सहअस्तित्व, पर्यापर्यटन तथा संरक्षणमा हात्तीको भूमिकासम्बन्धी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, संरक्षकर्मी तथा वातावरणविद्को सन्देशमूलक सामग्री प्रदर्शनसमेत महोत्सवमा रहनेछन्।

महोत्सवले २५ देखि ३० प्रतिशतसम्म पर्यटक आगमन बढाउने अपेक्षा आयोजकले गरेको छ। महोत्सव अवधिमा सौराहामा आउने पाहुनालाई आवास तथा खानामा १० प्रतिशत छुट प्रदान गर्न क्षेत्रीय होटल सङ्घ र रेवान सौराहाका सदस्यहरूले सहमति जनाएका छन्।

महोत्सवमा २५ वटा सामग्रीसहितका स्टल रहने व्यवस्था मिलाइएको क्षेत्रीय होटल सङ्घका अध्यक्ष ओमप्रकाश पाण्डेले बताए। चितवनलाई जैविक विविधता र वन्यजन्तुको पर्यटकीय राजधानीका रूपमा परिचित गराउन हात्ती–सफारी मुख्य आधार रहेको उनले उल्लेख गरे।

चितवन राष्ट्रिय निकुञ्जकै प्रमुख प्रवेशद्वार सौराहा हो, जहाँ निकुञ्ज तथा सामुदायिक वन अवलोकन गर्न आउने पर्यटक होटलहरूमा बसोबास गर्छन्। कम पर्यटक आगमन हुने समयमा पर्यटन क्रियाकलाप बढाउन हरेक वर्ष यो महोत्सव गरिँदै आएको र यसले रोजगारी तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्