
चितवन । माडी नगरपालिकामा रहेको बघौडा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने समूहका चार युवालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार राति करिब १०ः१५ बजे चार/पाँच जनाको समूह अस्पतालमा प्रवेश गरी चिकित्सा सेवामा संलग्न चिकित्सक र कर्मचारीलाई कुटपिट गरेको थियो।
इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक किरण राईका अनुसार अस्पतालले शुक्रबार दिएको उजुरीका आधारमा माडीका किरण खाती, सङ्गम तिवारी, विकास गुरुङ र प्रकाश गौतमलाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
निरीक्षक राईले चिकित्सकमाथि भएको कुटपिटको मुद्दा अदालतबाट सिधैँ सञ्चालन हुने भन्दै कानुनी प्रक्रिया अघि बढिरहेको जानकारी दिए।
बघौडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. धीरञ्जनकुमार साहका अनुसार मंसिर ११ गते राति सोही समयमा अस्पताल परिसरमै आक्रमण भएको थियो। मादक पदार्थ सेवन गरेका ती युवाले डा. दीपेन्द्र विश्वास, डा. देवेन्द्र विश्वास, हे.अ. अनुप सुवेदी, कविराज तिवारीलगायत स्वास्थ्यकर्मीलाई कुटपिट गर्नुका साथै अपशब्द प्रयोग गर्दै गालीगलौज पनि गरेका थिए।
नेपाल चिकित्सक सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष डा. दीपेन्द्र न्यौपानेले स्वास्थ्यकर्मीमाथि भएका यस्ता आक्रमण कतैबाट पनि क्षम्य नहुने बताउँदै दोषीलाई कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन्।





