
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको प्रमुख व्यापारिक केन्द्र बनेपाबाट बागमती प्रदेशको राजधानी हेटौँडासम्म बस सेवा सञ्चालनमा आएपछि स्थानीयवासीको यात्रा सहज बनेको छ । नयाँ बस सेवाले घुमाउरो र लामो मार्ग प्रयोग गर्नुपर्ने बाध्यता हटाएको छ ।
काभ्रे–पुन्यवती यातायात प्रालि, पनौतीले मंसिर १ गतेदेखि बनेपा–हेटौँडा बस सेवा सञ्चालन गरेको हो । करिब ११० किलोमिटर दूरीको यस मार्गमा अधिकांश सडक कच्ची रहे पनि सेवाको प्रभावकारिता देखिएपछि चाँडै थप बस सञ्चालन गर्ने तयारी प्रालिले जनाएको छ ।
स्थानीय माग र वडा कार्यालयको सिफारिसका आधारमा सञ्चालनमा आएको क्यू बसले बनेपाबाट पनौती, धुङ्खर्क, च्याम्य्राङबेँसी, सुकमफेदी, सिलिडे, हुचिटार, बेतीनी, साइटार, फापरवारी, हात्तीसड, फर्केचौर, छतिउन, चिसापानी हुँदै हेटौँडासम्म नियमित सेवा प्रदान गर्दै आएको बेथानचोक–१ का वडाध्यक्ष मधुसुधन तिमल्सिनाले जानकारी दिए।
उनका अनुसार बागमती प्रदेश अन्तर्गत चितवनस्थित नारायणी यातायात सेवाले पनि सो खण्डमा थप बस चलाउने प्रक्रिया सुरु गरेको छ । स्थानीय जनप्रतिनिधिहरूले आवश्यक स्वीकृति र प्रक्रिया सहज बनाई दिन विविध निकायसँग आग्रह गरिरहेका छन् ।
यसैबीच, बस सेवा सञ्चालनसँगै प्रदेश राजधानीमा कार्यालय, व्यापारिक तथा व्यक्तिगत कामका लागि यात्रा गर्न सहज भएको स्थानीयवासी बताउँछन् । च्याम्राङबेँसीका सन्तोष दाहालका अनुसार यसअघि हेटौँडा पुग्न चारवटा सवारी साधन फेर्नुपर्ने बाध्यता हटेपछि अब समय र खर्च दुबै बचेको छ ।
उनले भने, “बस सेवा सुरु भएपछि अब यात्रा सहज मात्र भएको छैन, दैनिक जीवनमा समेत ठूलो सुविधा पुगेको छ ।”





