१३औँ कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको तयारी पूरा



काठमाडौँ । १३औँ कोरियन एम्बेस्डर इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपका सबै तयारी पूरा गरिएको छ। आगामी मंसिर १५ देखि २० गतेसम्म ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा उक्त प्रतियोगिता आयोजना हुने छ।

मूल आयोजक समितिका अध्यक्ष भानबहादुर चन्दका अनुसार यसअघि राष्ट्रिय तहमा सीमित रहँदै आएको प्रतियोगिता यस वर्षदेखि अन्तर्राष्ट्रिय स्वरूपमा विस्तार गरिएको हो। च्याम्पियनसिपमा नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश र भुटानका खेलाडीहरूले प्रतिष्पर्धा गर्नेछन्।

नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको विशेष सहयोगमा संचालन हुने प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन सात सदस्यीय मूल आयोजक समिति र १० वटा उपसमिति गठन गरिएको चन्दले जानकारी दिए।

च्याम्पियनसिप सञ्चालनमा नेपालका ४० जना अन्तर्राष्ट्रिय निर्णायक परिचालन गरिने तयारी गरिएको छ। उनका अनुसार नेपालका सातै प्रदेश तथा तीन विभागीय टोलीका खेलाडीहरू समेत सहभागी हुनेछन्। प्रतियोगितामा ग्योरोगी, पुम्से र पारा तेक्वान्दो गरी तीन वटै विधामा १,५३० खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ।

विजेताहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्