१३ औँ कोरियन एम्बेसेडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता मंसिर १५ देखि सातदोबाटोमा प्रारम्भ



ललितपुर, मंसिर १४ ।
नेपाल तेक्वान्दो संघ र नेपालस्थित दक्षिण कोरियाली दुतावासको संयुक्त आयोजनामा १३ औँ कोरियन एम्बेसेडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२५ आगामी मंसिर १५ गतेदेखि २० गतेसम्म ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी भवनमा हुने भएको छ।

प्रतियोगिता व्यवस्थापनका लागि संघका उपाध्यक्ष भान बहादुर चन्दको अध्यक्षतामा सात सदस्यीय मूल आयोजन समिति तथा १० वटा उपसमिति गठन गरिएको आयोजकले जनाएको छ।

७ प्रदेशका खेलाडी, ३ विभागीय टिम र ४० अन्तर्राष्ट्रिय निर्णायकको सहभागिता

प्रतियोगितामा नेपालका ७ वटै प्रदेश, ३ विभागीय टिम र महिला–पुरुष गरी करिब १५२० खेलाडी सहभागी हुनेछन्।
पुम्से तथा फाइटिङ गरी तेक्वान्दोका विभिन्न ८ विधामा प्रतिस्पर्धा हुनेछ।
सञ्चालनका लागि ४० जना अन्तर्राष्ट्रिय निर्णायक नेपाल आउने कार्यक्रम छ।

उद्घाटन समारोहमा Demonstration र K-POP नृत्य

मंसिर १५ गते हुने उद्घाटन समारोहमा तेक्वान्दो खेलाडीहरूको विशेष Demonstration, सांस्कृतिक प्रस्तुति तथा कोरियन K-POP नृत्यसमेत प्रस्तुत गरिनेछ।
आयोजकले उद्घाटन समारोहलाई भव्य र आकर्षक बनाउन विशेष तयारी गरेको जनाएको छ।

अन्तर्राष्ट्रिय टिमहरूको सहभागिता

पहिलो पटक सन् २००३ मा आयोजना भएको कोरियन एम्बेसेडर प्रतियोगिता पछिल्ला वर्षहरूमा सफलतापूर्वक सम्पन्न हुँदै आएको छ।
यस वर्ष भारत, पाकिस्तान, बंगलादेश र भुटानका खेलाडी टोलीहरू पनि सहभागिता जनाउने अपेक्षा गरिएको छ।

सफल आयोजनाका लागि तयारी पूरा

आयोजक संघका अनुसार प्रतियोगिताको सम्पूर्ण पूर्वतयारी पूरा भएको छ। खेलाडी, प्रशिक्षक, निर्णायक तथा अतिथिहरूको व्यवस्थापनदेखि कार्यक्रममा आवश्यक समन्वयसम्म सबै पक्षमा उच्च सतर्कता अपनाइएको छ।

नेपाल तेक्वान्दो संघले प्रतियोगितामा सहभागी सबै खेलाडी, प्रशिक्षक, निर्णायक तथा सरोकारवालालाई स्वागत जनाएको छ।

प्रतिक्रिया दिनुहोस्