मल्कवाङमा पहिलोपटक बस सेवा—स्थानीयवासी खुशी



म्याग्दी । धवलागिरि गाउँपालिका–५ मल्कवाङमा इतिहासमै पहिलोपटक बस पुगेसँगै स्थानीयवासी उत्साहित भएका छन्। सदरमुकाम बेनीबाट यात्रु लिएर ध१ख ३०८ नम्बरको बस शनिबार पहिलोपटक मल्कवाङ पुगेको हो।

बसका धनी जगत दगामी मगर र चालक श्याम मिजारलाई स्थानीय बासिन्दाले अबिर, माला र खुसीसहित स्वागत गरे। स्वागत कार्यक्रम वडाध्यक्ष अमर छन्त्याल, जनप्रतिनिधि, स्थानीय अगुवा, आमा समूह र युवा क्लबका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भयो।

वडाध्यक्ष छन्त्यालका अनुसार मल्कवाङ विसं २०७८ मा सडक सञ्जालमा जोडिए पनि अहिलेसम्म जिप, ट्याक्टर र मोटरसाइकल मात्र प्रवेश गर्न सक्थे। गाउँपालिकाले बर्खामा अवरुद्ध हुने सडक मर्मत र अप्ठ्यारो ठाउँमा ग्रेड तथा घुम्ती मिलाएपछि बस सञ्चालन सम्भव बनेको हो।

पाँच वर्षपछि बस सेवा शुरू भएपछि स्थानीयले सस्तो भाडामा यात्रा गर्न पाउने भए। पहिले मल्कवाङ–बेनी जिप भाडा प्रतिव्यक्ति रु १,००० पर्न्थ्यो भने अब बसको भाडा रु ७५० कायम गरिएको छ। ४५ किमिको यात्रामा मल्कवाङ, भेडिखाल्डा, कुइनेखानी, आरवाङ र घण्टीवाङका करिब ३०० परिवार लाभान्वित हुने वडाध्यक्षले बताए।

असारदेखि असोजबाहेक आठ महिना बस सहज रूपमा सञ्चालन गर्न मिल्ने गरी सडक सुधार भएको छ। म्याग्दी यातायात प्रालिले बेनीबाट बिहान ७ः०० बजे र मल्कवाङबाट बिहान ८ः०० बजे दैनिक एक–एक वटा बस चलाउने जनाएको छ।

यसअघि स्थानीयहरू पैदलै मराङ बेँसी पुगेर मात्रै बस चढ्ने गर्थे। भेडिखाल्टासम्म सडक पुर्‍याउन धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा ३० लाख विनियोजन गरी काम अघि बढाइरहेको अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए।

गण्डकी प्रदेश सरकारले मलिका गाउँपालिकाको बिमलुरवाङ, मराङबेसी, अर्वाङ हुँदै मल्कवाङ जोड्ने सडकलाई बहुवर्षीय योजनामा समावेश गर्दै चालु आवमा एक करोड बजेट विनियोजन गरेको छ। प्रदेशसभा सदस्य रेशम जुग्जालीले उक्त बजेटलाई आधार मानेर पाँच करोडको स्रोतसुनिश्चितता गरी बहुवर्षीय ठेक्का आह्वान गर्नुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्