
काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि छनोट प्रक्रिया आज शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। पार्टीका अनुसार करिब २,२०० प्रतिनिधि चयन भएका छन्।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अधिकांश कमिटीमा सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरिएको बताए। उनका अनुसार केही स्थानमा भने निर्वाचनमार्फत प्रतिनिधि चयन गरिएको छ। रोकिएका स्थानहरूमा पनि निर्वाचनको माध्यमबाट प्रक्रिया टुंग्याउन निर्देशन दिइएको उनले जानकारी दिए।
पार्टी संरचना अनुसार प्रत्येक प्रतिनिधि क्षेत्रबाट खुला, महिला र युवा कोटा गरी चार जना प्रतिनिधि चयन हुने व्यवस्था छ।
एमालेले आज चयन भएका प्रतिनिधिहरूको विवरण मङ्सिर १५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ। पार्टीको ११औँ महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म भक्तपुरमा हुने कार्यक्रम तय गरिएको छ।





