
संखुवासभा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनमा आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति उदाउने दाबी गरेका छन्।
खाँदबारीमा आज आयोजित संगठन विस्तार तथा जागरण सभालाई सम्बोधन गर्दै उनले विगतमा देखिएको राजनीतिक अस्थिरता, भ्रष्टाचार र सरकारी असफलताले जनतामा वैकल्पिक शक्तिको खोजी बढेको बताए। साम्पाङका अनुसार उनका नेतृत्वमा रहेको पार्टी नै त्यही विकल्पका रूपमा अघि बढ्दै भएकाले उल्लेख्य जनसमर्थन प्राप्त गर्दै आगामी निर्वाचनमा महत्वपूर्ण सफलता हासिल गर्ने विश्वास उनले व्यक्त गरे।
अध्यक्ष साम्पाङले आफ्नो पार्टी प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणालीको पक्षमा रहेको बताउँदै भ्रष्टाचारविरुद्ध कठोर नीति अपनाइने स्पष्ट गरे। “भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिइने छैन। हाम्रो सरकार सुशासन, पारदर्शिता र मितव्ययितामा आधारित हुनेछ,” उनले भने।
उनका अनुसार उत्पादन तथा निर्माणलाई प्रमुख प्राथमिकतामा राख्दै देशलाई आर्थिक रूपमा सक्षम बनाउने लक्ष्य पार्टीको छ। उत्पादनमा वृद्धि हुन नसक्दा ठूलो संख्यामा नेपाली बेरोजगार हुनुपरेको पीडा आफूहरूले बुझेको उल्लेख गर्दै साम्पाङले गाउँ–गाउँमा संगठन विस्तार गरी सामाजिक तथा आर्थिक रूपान्तरणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।





